ल्याटिन अमेरिकी मुलुक कोलाम्बियाका मतदाताले पहिलो पटक वामपन्थी राष्ट्रपति निर्वाचित गरेका छन्। पूर्वगुरिल्ला र लामो समयदेखि सिनेटर रहेका गुस्ताभो पेत्रोले आइतबार भएको चुनाव जितेका हुन्।
६२ वर्षीय पेत्रोले आर्थिक व्यवस्था बदल्ने बाचा गरेका छन्। उनले ५० प्रतिशतभन्दा बढी मत पाए। उनका प्रतिस्पर्धी निर्माण व्यवसायी रोडोल्फो हर्नान्डेजले ४७ प्रतिशत मत पाए।
उपराष्ट्रपतिमा अश्वेत महिला फ्रान्सिया मार्खेज मिना निर्वाचित भएकी छन्।
ल्याटिन अमेरिकाको तेस्रो ठूलो मुलुक कोलम्बियाका ३ करोड ९० लाख मतदातामध्ये ५८ प्रतिशत मतदानमा सहभागी भएका थिए।
पेत्रोको विजयले कोलम्बियामा व्याप्त असन्तुष्टिलाई प्रतिबिम्बित गरेको जानकारहरु बताउँछन्। गरिबी, बढ्दो असमानता र अवसरको कमीका कारण गत वर्ष लाखौँले सडक प्रदर्शन गरेका थिए।
‘सिंगै देश परिवर्तनको माग गरिरहेको थियो,’ कोलम्बियाका राजनीतिशास्त्री फर्नान्डो पोसादाले भने।
वामपन्थी विजयलाई यो मुलुकको इतिहासमा महत्वपूर्ण क्षण मानिएको छ। रिभोलुसनरी आर्म्ड फोर्सेस अफ कोलम्बिया (फार्क)ले यहाँ दशकौँ लामो सशस्त्र विद्रोह चलाएको थियो। २०१६ मा फार्क हतियार बिसाएर शान्ति वार्तामा आयो।
पेत्रो फार्कभन्दा अलग एम–१९ नामक विद्रोही समूहका सदस्य थिए।
एम–१९ सहरी सशस्त्र गुरिल्ला समूह थियो। जसको स्थापना विश्वविद्यालयका विद्यार्थी, एक्टिभिस्ट र कलाकारले गरेका थिए।
सो समूहले पहिले सुपरमार्केटका ट्रकबाट दूध लुटेर गरिब बस्तीमा बाँड्नेजस्ता काम गरेको थियो।
१७ वर्षको उमेरमा पेत्रो सो समूहमा भर्ती भएका थिए। राजधानी बोगोटाको बाहिरी हिस्सामा बस्ने उनी अर्थशास्त्रको विद्यार्थी थिए र त्यहाँको गरिबीबाट निराश थिए।
एम–१९ अन्य विद्रोही समूहभन्दा कम हिंसात्मक थियो। तर, मुलुकको इतिहासको ठूलोमध्ये एउटा रक्तपात यही समूहले गराएको थियो। १९८५ मा सो समूहले कोलम्बियाको न्यायलय कब्जा गरेको थियो। त्यसपछि सेना र प्रहरी परिचालन गरेर भएको लडाइँमा ९४ जनाको ज्यान गएको थियो।
यो समूहले सेनाबाट ५ हजार थान हतियार चोरेको थियो र सरकारलाई आफ्नो माग पुरा गराउन अपहरणलाई मुख्य तरिका बनाएको थियो।
‘पेत्रो एम–१९ को प्रमुख नेताहरुमा थिएनन्, जसले समूहको निर्णय गर्ने गर्थे,’ बोगोटास्थिति युनिभर्सिटी अफ एन्डिजका प्राध्यापक सान्ड्रा बोर्दा भन्छिन्।
यो समूह १९९० मा टुटेको थियो। त्यसपछि सो समूह राजनीतिक दलका रुपमा संविधान पुनर्लेखनमा सहभागी भयो।
पेत्रोले मुलुकको आर्थिक प्रणाली लथालिंग भएको बताएका छन्। अर्थतन्त्र पुरै तेल निर्यात र अवैध कोकिन व्यापारमा निर्भर भएको हुनाले धनी झन् धनी हुँदै गएको र गरिब झन् गरिब हुँदै गएको उनको भनाइ छ।
उनले नयाँ तेल खानीको खोजी बन्द गरेर अन्य उद्योग विस्तार गर्नुपर्ने, सामाजिक कार्यक्रम विस्तार गर्नुपर्ने र धनीहरुलाई कर बढाउनुपर्ने बताएका छन्।
पेत्रोको जित ल्याटिन अमेरिकामा अमेरिकाका लागि धक्का हुन सक्ने विश्लेषण पनि गरिएको छ। दशकौँदेखि कोलम्बिया अमेरिकाको सबैभन्दा बलियो सहयोगी रहँदै आएको छ। पेत्रोले अमेरिकासँगको सम्बन्ध पुनर्मूल्यांकन गर्ने प्रतिबद्धता जनाएका छन्।
१९९० र २००० को दशकमा वामपन्थतर्फ ढल्केको ल्याटिन अमेरिकाको राजनीतिमा २०१० को सुरुवाती वर्षहरुमा पुनः दक्षिणपन्थ हावी भएको थियो।
तर, २०१८ मा मेक्सिको, २०१९ मा अर्जेन्टिना, २०२० मा बोलिभिया, चिली र होन्डुरस, २०२१ मा पेरु र यो वर्ष कोलम्बियामा वामपन्थीहरु शीर्ष नेतृत्वमा चयन भएका छन्। यसलाई दोस्रो ‘गुलाबी लहर’ समेत भन्ने गरिएको छ। एजेन्सी
Shares
प्रतिक्रिया