भारतले गरेको नेपाली भूमि अतिक्रमणविरुद्ध एनआरएनए आईसीसीले राष्ट्रसंघमा ज्ञापनपत्र बुझाएको छ।
एनआरएनए आईसीसीका उपाध्यक्ष सोनाम लामाको नेतृत्वमा गएको टोलीले न्युयोर्कस्थित संयुक्त राष्ट्रसघंको मुख्यालयमा ज्ञापनपत्र बुझाएको हो।
भारतले नेपाली भूमि मिचेकाविरुद्ध टोलीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटिरेजको कार्यकारी कार्यालयमा ज्ञापनपत्र बुझाएको हो।
भारत सरकारले हालै प्रकाशन गरेको नयाँ नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत क्षेत्र आफ्नो भूभागमा पारेको छ।
एनआरएन आईसीसीले ज्ञापनपत्रमा भारतले नेपालका यी भूमि मिचेर सार्वभौममा असर पुर्याएको भन्दै संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराएको हो। उल्लिखित नेपाली भूमि नेपाललाई फिर्ता गराउन ज्ञापनपत्रमा अनुरोध पनि गरिएको छ।
दुई देशबीचको सीमा समस्या कूटनीतिक संवादमार्फत समाधान हुनुपर्नेमा एनआरएनएले जोड दिएको छ।

एनआरएनए आईसीसीका अध्यक्ष कुमार पन्त र उपाध्यक्ष सोनाम लामाका तर्फबाट उक्त ज्ञापनपत्र बुझाइएको छ जसमा एनआरएनए अमेरिकाको समेत संलग्नता छ।
ज्ञापनपत्र बुझाउन एनआरएनए आईसीसी उपाध्यक्ष सोनाम लामा, एनआरएनए अमेरिकाका उपाध्यक्ष बीआर लामा, सामाजिक अभियन्ता डाक्टर विष्णुमाया परियार, एनआरएनए आईसीसीका तर्फबाट अमेरिकाक्षेत्रका लागि पूर्व डेपुटी रिजनल कोअर्डिनेटर नविन शेरचन, एनआरएनए न्युयोर्क च्याप्टरका पूर्व उपाध्यक्ष विष्णु रानामगर, संचारकर्मीहरु किरण मरहठ्ठा र किशोर पन्थी राष्ट्रसंघ मुख्यालय पुगेका थिए।
Shares

प्रतिक्रिया