रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आंशिक परिचालन घोषणा गर्दै जगेडा सैनिकलाई सेवामा फिर्ता बोलाएपछि युक्रेन युद्ध थप चर्किने सम्भावना बढेको छ। पछिल्ला केही साता युद्धमोर्चामा युक्रेनले रुसी सेनालाई पछाडि धकेलेपछि रुसले जगेडा सैनिक बोलाएको हो।
बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै पुटिनले आणविक हतियार प्रयोगको चेतावनी समेत दिए।
रुससँग कम्तीमा २० लाख जगेडा सैनिक रहेको बताइन्छ। तर, पुटिनपछि सम्बोधन गरेका रक्षामन्त्री सेर्गेइ सोइगुले हाललाई ३ लाख जगेडा सैनिक परिचालन गरिने बताए।
‘पश्चिमको लक्ष्य हाम्रो देशलाई कमजोर पार्नु, विभाजित तुल्याउनु र अन्तिममा ध्वस्त पार्नु हो,’ पुटिनले भने, ‘उनीहरु अहिले सिधै भन्न थालेका छन्, १९९१ मा सोभियत संघलाई विभाजित गर्न सफल भयौँ भनेर। त्यसैले अनेक क्षेत्रमा विभाजित भएर एकअर्काको शत्रु बन्ने क्रमलाई रोक्ने बेला आएको छ।’
‘हाम्रो मातृभूमिको रक्षा, यसको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न, हाम्रो जनता र मुक्त क्षेत्रका जनताको सुरक्षा सुनिश्चित गर्न आंशिक परिचालन गर्ने रक्षा मन्त्रालय र जनरल स्टाफको प्रस्तावमा सहमत हुन आवश्यक छ भन्ने मलाई लाग्छ,’ उनले थपे।
उनले सैन्य अनुभव भएकालाई मात्र परिचालन गरिने बताए। पश्चिमाहरुले रुसी भूमिमाथि खतरा पैदा गरे ‘जवाफ दिन पर्याप्त हतियार’ आफूसँग रहेको बताउँदै पुटिनले आफूले फोस्रो धम्की मात्र नदिएको बताए।
‘म तपाईंहरुलाई सम्झना दिलाउन चाहन्छु, हाम्रो देशसँग विनाशका अनेक माध्यम छन्। केही त नेटो मुलुककाभन्दा पनि आधुनिक पनि छन्,’ उनले भने, ‘र यदि हाम्रो मुलुकको भौगोलिक अखण्डतामाथि खतरा उत्पन्न भयो भने हामी निश्चय नै सबै माध्यम प्रयोग गरेर रुस हाम्रा जनताको रक्षा गर्छौं।’
‘यो फोस्रो धम्की होइन,’ उनले थपे।
पुटिनको सम्बोधन मंगलबार साँझका लागि तय भएको थियो। तर, सम्बोधन स्थगित भएपछि यसबारे अनेक अड्कलबाजी चलेको थियो।
पुटिनले दोनेस्क, लुहान्स्क, खेरसन र जापोरिजामा मंगलबार घोषणा गरिएको जनमतसंग्रहलाई पनि समर्थन गरे। रुसको कब्जामा पुगेका ती क्षेत्रहरुले मंगलबार अब रुसमा गाभिने विषयमा यसैसाताका लागि जनमतसंग्रह घोषणा गरेका छन्।
रुसी रक्षामन्त्री सोइगुले आफ्नो सम्बोधनमा युद्ध सुरु भएयता रुसका ५ हजार ९३७ सैनिको ज्यान गएको पनि बताएका छन्। एजेन्सी
Shares

प्रतिक्रिया