कारोबार


जापानको सहयोगमा सहरी क्षेत्रको विद्युत प्रसारण तथा वितरण पूर्वाधार विस्तार गरिंदै

जापानको सहयोगमा सहरी क्षेत्रको विद्युत प्रसारण तथा वितरण पूर्वाधार विस्तार गरिंदै

फाइल तस्बिर


नेपालखबर
असोज ५, २०७९ बुधबार १६:१०, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणले जापान सरकारको सहुलितपूर्ण ऋणमा काठमाडौं उपत्यका र पोखराको सहरी क्षेत्रको विद्युत प्रसारण तथा वितरण  प्रणाली विस्तार तथा सुधार गर्ने भएको छ।

जापान सरकारबाट प्राप्त हुने करिब १४ अर्बबाट १३२ केभी क्षमताका ५ वटा नयाँ सबस्टेसन निर्माण गरिनेछ। 

सहरी क्षेत्रमा १५ किलोमिटरभन्दा बढी १३२ केभी प्रसारण लाइनलाई भूमिगत गरिनेछ। जापानको सहयोगमा काठमाडौं उपत्यकाको थापाथली, महाराजगञ्ज, राजदरबार तथा सिरुटार र पोखराको बिरौटामा १३२÷११ केभीका सबस्टेसन निर्माण गरिनेछन्।

सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका प्राप्त हुने सहुलियतपूर्ण ऋणको वार्षिक ०.०१ प्रतिशत व्याजदर, ३० वर्षको भुक्तानी र १० वर्षको ग्रेस अवधि रहेको छ । आयोजनाको कार्यान्वयनबाट काठमाडौं र पोखरा लगायतका सहरमा प्रसारण चुहावट घट्ने, वितरण प्रणालीको क्षमता विस्तार हुने, विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ।

आयोजना कार्यान्वयनका लागि बुधबार नेपाल सरकारकातर्फबाट अर्थ सचिव कृष्णहरि पुस्कर र जापान सरकारका तर्फबाट नेपालका लागि जापानका राजदूत किकुता युताकाले आदानप्रदान पत्र तथा रेकर्ड अफ डिस्कसनमा हस्ताक्षर गरे। 

त्यसैगरी,  ऋण सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा समन्वय महाशाखाका सहसचिव ईश्वरी प्रसाद अर्याल र जाइका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले हस्ताक्षर गरे।

आयोजनामार्फत काठमाडौंको टेकुस्थित सबस्टेसनबाट करिब २ किलोमिटर १३२ केभी प्रसारण लाइनलाई भूमिगत गरी थापाथलीमा रहेको स्वीचिङ स्टेसनमा ल्याइनेछ। थापाथली स्वीचिङ स्टेसनलाई हटाएर त्यहाँ १३२÷११ केभीको सबस्टेसन निर्माण गरिने छ । सबस्टेसनको क्षमता ९० एमभिए रहने छ । सबस्टेसनबाट विद्युत वितरणका लागि ९÷१० वटा फिडर निकालिने छन्।

बालाजु सबस्टेसनबाट १३२ केभी प्रसारण लाइनलाई ९ किलोमिटरभन्दा बढी भूमिगत केबलमार्फत महाराजगञ्ज हुँदै राजदरबार ल्याइनेछ। महाराजगञ्ज र राजदरबारमा १३२÷११ केभीका एक÷एक सबस्टेसन निर्माण हुनेछन्। 

सबस्टेसनको क्षमता ६०÷६० एमभिए रहने छ । यसैगरी, भक्तपुरको सिरुटारमा १३२÷११ केभीको सबस्टेसन निर्माण निर्माण गरिने छ । सबस्टेसनको क्षमता ६० एमभिए रहनेछ। तीनवटै सबस्टेसनहरुबाट स्थानीय रुपमा विद्युत वितरणका लागि ९÷१० वटा फिडर निकालिने छन्।

पोखराको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन पोखरा महानगरपालिका–१७ बिरौटामा १३२÷११ केभी सबस्टेसनको निर्माण गरिनेछ। 

प्राधिकरणले कालीगण्डकी–लेखनाथ १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई बिरौटामा सबस्टेसन बनाएर पोखराको सहरी क्षेत्रमा आपूर्ति गर्ने छ। 

प्रसारण लाइनबाट सबस्टेसनसम्म करिब ६ सय मिटर लाइनलाई भूमिगत गरिनेछ। सबस्टेसन निर्माणका लागि बिरौटास्थित फेवा विद्युतगृहको जमिन प्रयोग गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad