संयुक्त राष्ट्रसंघीय महासभामा क्युबामाथि लगाइएको ६ दशक लामो अमेरिकी नाकाबन्दी हटाउनुपर्ने संकल्प प्रस्तावको पक्षमा १८५ मुलुकले मतदान गरेका छन्।
क्युबाले नाकाबन्दी हटाउन गरेको आग्रहपछि सो संकल्पमा मतदान भएको थियो। सो संकल्प बाध्यकारी भने होइन।
संकल्पको विपक्षमा अमेरिका र इजरायल मात्र उभिए। ब्राजिल र युक्रेन भने अनुपस्थित रहे।
क्युबामाथिको नाकाबन्दीलाई राष्ट्रसंघले अत्यधिक मतका साथ भर्त्सना गरेको यो ३० औँ पटक हो।
फिडेल क्यास्ट्रोको नेतृत्वमा १९५९ मा क्युबामा क्रान्ति भएको थियो। उनले अमेरिकी कर्पोरेसनहरुको सम्पत्ति राष्ट्रियकरण गरिदिए। त्यसपछि अमेरिकाले लगाएको नाकाबन्दी अहिलेसम्म हटेको छैन।
बीचमा अनेक पटक अमेरिकाले देखिनेगरी र गुप्त रुपमा पनि क्युबामा सत्तापलट र क्यास्ट्रो हत्याप्रयास गरेको थियो।
ओबामा प्रशासनले क्युबासँगको सम्बन्ध केही सहज बनाउन कदम चाले पनि त्यसलाई ट्रम्पले उल्ट्याइदिए।
बाइडेनले त्यसैलाई निरन्तरता दिइरहेका छन्।
बाइडेनको १४ महिने शासनकालमा आफ्नो मुलुकलाई ६.३५ अर्ब डलर घाटा लागेको क्युबाली विदेशमन्त्री ब्रुनो रोड्रिगेजको भनाइ छ। एजेन्सी
Shares
प्रतिक्रिया