ad ad

ग्लोबल


नेपाली विद्यार्थीले एक वर्षमा अस्ट्रेलियालाई बुझाए झण्डै २ खर्ब रुपैयाँ

नेपाली विद्यार्थीले एक वर्षमा अस्ट्रेलियालाई बुझाए झण्डै २ खर्ब रुपैयाँ

नेपालखबर
पुस ७, २०७६ सोमबार ७:५७,

शैक्षिक सत्र १०१८–१९ मा नेपाली विद्यार्थीले अस्ट्रेलियामा २.६ अर्ब डलर बुझाएका छन्। अघिल्लो वर्ष नेपाली विद्यार्थीले १.६ अर्ब डलर खर्च गरेका थिए।

२०१८ को अक्टोबरदेखि २०१९ को अक्टोबरसम्म ६५ हजार ७ सय ४६ नेपाली विद्यार्थी अस्ट्रेलियामा उच्च शिक्षाका लागि भर्ना भएका छन्। यो संख्या २०१६ को भन्दा तेब्बर हो।

सन् २०१७ यता अस्ट्रेलियाका लागि नेपाल विदेशी विद्यार्थीको तेस्रो ठूलो स्रोत बनेको छ। अस्ट्रेलियामा पढिरहेका विदेशी विद्यार्थीमध्ये ७ प्रतिशत नेपाली छन्। अस्ट्रेलियामा नेपालीभन्दा चिनियाँ र भारतीय विद्यार्थी मात्र बढी छन्।

अर्कोतर्फ नेपालबाट विद्यार्थी विदेश पठाउने एजेन्टको संख्या पनि ३ हजारभन्दा बढी पुगेको छ।

धेरैजसो नेपाली विद्यार्थीहरु अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा पढ्ने गर्छन्। यो वर्ष अस्ट्रेलियामा भर्ना भएका नेपाली विद्यार्थीमध्ये ४२ हजार ५ सय न्यु साउथ वेल्स पुगेका छन्। ११ हजार ३ सयले मात्र भिक्टोरियालाई आफ्नो गन्तव्य बनाएका छन्।

नेपाली विद्यार्थीलाई रोक लगाउन आह्वान
अस्ट्रेलियामा नेपाली विद्यार्थीको संख्या अत्यधिक मात्रामा बढेपछि गरिब नेपाली विद्यार्थीमाथि रोजगारदाता र शैक्षिक संस्थाबाट शोषण भइरहेको हुनसक्ने भन्दै शैक्षिक विज्ञहरुले सरकारलाई चेतावनी दिएका छन्। उनीहरुले नेपाली विद्यार्थीको संख्यामा रोक लगाउन पनि आह्वान गरेका छन्।

धेरैजसो चिनियाँ र भारतीय विद्यार्थीहरु विश्वविद्यालयको डिग्री लिन अस्ट्रेलिया जान्छन्। तर, आधाजति नेपाली विद्यार्थी भने सीपमूलक शिक्षा, तालिम र अंग्रेजी भाषाको पाठ्यक्रम पढ्न भर्ना हुने गर्छन्।

यसरी ठूलो खर्च गरेर अस्ट्रेलिया पुगेका नेपाली विद्यार्थीले ट्युसन खर्च धान्न नसक्ने र पैसा कमाउनका लागि जस्तोसुकै काम गर्न तयार हुँदा उनीहरुमाथि दुर्वयवहार हुने गरेको भन्दै अस्ट्रेलियाली विज्ञहरुले चिन्ता व्यक्त गरेका हुन्।

‘नेपाल कम जनसंख्या भएको अत्यन्त गरिब मुलुक हो,’ अस्ट्रेलियन नेसनल युनिभर्सिटीका प्रध्यापक एन्ड्रयु नर्टन भन्छन्, ‘यस्तो मुलुकबाट यति धेरै विद्यार्थी अस्ट्रेलिया कसरी आउन सक्छन् र यहाँको शिक्षाको खर्च कसरी धान्छन् भन्ने आधारभूत प्रश्न खडा हुन्छ। धेरैजसो नेपाली विद्यार्थीको भिसामा दोस्रो आवेदक पनि हुने गर्छन्। मलाई लाग्छ, सायद उनीहरु काम गर्न आफ्ना जोडीलाई यहाँ ल्याइरहेका छन्।’

‘यहाँको श्रम बजारमा केही समस्या छन्। अस्थायी भिसा हुनेहरुलाई न्यूनतम ज्यालाभन्दा कम मात्र दिइने गरिन्छ। त्यस्तो काम पनि उनीहरु स्वीकार गर्छन् किनभने उनीहरुले काम पाइरहेका हुँदैनन्। साथै उनीहरु विद्यार्थी भिसामा गर्न पाउने समयभन्दा बढी काम गर्न पनि तयार हुन्छन्,’ उनले थपे।

युनिभर्सिटी अफ सिड्नीका सहायक प्राध्यापक साल्भातोर बबोन्स त सरकार र विश्वविद्यालयहरुले गरिब परिवारमाथि ‘दुर्व्यवहार’ गरिरहेको आरोप लगाउँछन्।

‘नेपालको प्रतिव्यक्ति आय करिब १ हजार डलर छ। यो अस्ट्रेलियाभन्दा ५० गुणा कम हो। तैपनि अस्ट्रेलियामा नेपाली विद्यार्थीको यस्तो घुइँचो छ,’ उनी भन्छन्, ‘उनीहरु ठूलो ऋण लिएर अस्ट्रेलिया आइरहेका छन्। र, त्यो पैसा फिर्ता पठाउन दिनरात वैध र अवैध दुवैखाले काम गरिरहेका छन्। यसप्रति सबै सचेत हुन जरुरी छ।’

‘यो दृश्य भयावह छ। सजिलो छ भन्दैमा विकासशील मुलुकका गरिब मानिसको पैसा विश्वविद्यालय र सरकारले लिनु हुँदैन बरु तिनको ख्याल गर्नुपर्छ। यो नेपालका लागि दुर्व्यवहार हो,’ उनले थपे।
पछिल्लो समय नेपालले विश्वविद्यालयको पाठ्यक्रम समावेश नभएका विद्यार्थीलाई भाषा र उच्च माध्यामिक शिक्षामा मात्र जान नदिने निर्णय गरेपछि अस्ट्रेलियाका लागि भिसा आवेदन दिने विद्यार्थीको संख्या कम हुन थालेको छ।
(द सिड्नी मर्निङ हेराल्डबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .