हालै अमेरिकी वायुसेनाका एक जर्नेलले चीनले २०२५ मै ताइवानमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए। अमेरिकी जर्नेलको यो भनाइले ताइवान युद्धका लागि अमेरिकी सेनाले तयारी गरिरहेको स्पष्ट भएको चिनियाँ विश्लेषकहरुले बताएका छन्।
उनीहरुले चिनियाँ सेनाले पनि आफ्नो क्षमता बढाउनुपर्ने बताए।
अमेरिकी सेनाको एयर मोबिलिटी कमान्डका प्रमुख जर्नेल माइक मिनिहानले २०२५ मै चीनले ताइवानमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए। गत शुक्रबार सामाजिक सञ्जालमा देखिएको सो आन्तरिक टिप्पणीमा चार तारे जर्नेल मिनिहानले आफ्ना कमान्डरहरुलाई युद्धको अधिकतम तयारी गर्न निर्देशन दिएका थिए।
‘सी चिनफिङको टिम, कारण र अवसर सबै २०२५ को मितिसँग मेला खान्छ,’ मिनिहानले भनेका छन्।
आउँदो वर्ष ताइवानमा हुने राष्ट्रपतीय निर्वाचनले सीलाई सैन्य आक्रमणको बहाना दिने उनको भनाइ छ।
‘यस्तो चेतावनी दिएर अमेरिकी सेनाले दिन प्रतिदिन आफ्नो अडान स्पष्ट पार्दै लगेको देखिन्छ। त्यो अडान के हो भने यदि मुख्यभूमि चीनले आक्रमण गर्ने भयो भने अमेरिकाले सैन्य हस्तक्षेप गर्नेछ,’ नानचिङ युनिभर्सिटीका प्राध्यापक चु फेङले भने।
‘त्यस्तो चेतावनीले अमेरिकी पाइलटहरुलाई चिनियाँ समकक्षीसँग थप आक्रामक बन्न उत्प्रेरित गर्नेछ, जसले द्वन्द्वको जोखिम बढाउँछ,’ उनले थपे।
उनले १९७१ को अभूतपूर्व ताइवान तनाव आपसी संवाद र समझदारीको अभावका कारण उत्पन्न भएको बताए। त्यस्तै अहिलेको तनावका लागि चीनविरुद्धको नीतिमा ताइवानलाई मोलमोलाइको साधन बनाउने डोनाल्ड ट्रम्पको रणनीति जिम्मेवार भएको उनको भनाइ छ।
यसअघि अमेरिकी नौसेनाका एक कमान्डर एड्मिरल माइकल गिल्डेले २०२२ को अन्त्यमै चीनले ताइवानमाथि आक्रमण गर्नेसक्ने चेतावनी दिएका थिए।
गतवर्ष इन्डो–प्यासिफिक कमान्डका प्रमुख फिलिप डेविडसनले चीनले २०२७ सम्ममा ताइवान कब्जा गर्ने बताएका थिए।
चिनियाँ सैन्य विश्लेषकहरु भने ताइवानको तर्फबाट युद्धमा सहभागी हुने अमेरिकाको संकल्प बलियो हुँदै गएको बताउँछन्।
पीएलएका पूर्वप्रशिक्षक सोङ चोङपिङ पनि अमेरिका र चीनबीच द्वन्द्वको खतरा बढिरहेको बताउँछन्।
‘अमेरिकी जर्नेलहरु थप सैन्य बजेट माग्न ताइवानमा बलप्रयोगमा जोड दिइरहेका छन्,’ उनले भने।
चिनियाँ सेनासामु आफ्नो शक्ति बढाउनेबाहेक अरु कुनै विकल्प नरहेको उनले बताए।
बेइजिङस्थित नौसेना विज्ञ ली चेइ भन्छन्, ‘अमेरिकी सेनाको अनुमान सही हो। सैन्य द्वन्द्वको सबैभन्दा ठूलो सम्भावना रहेको क्षेत्र भनेको ताइवान नै हो। किनभने वासिङ्टनले चीनको बटमलाइन पार गरेर ताइवान स्वतन्त्रता पक्षधरहरुलाई प्रोत्साहित गरिरहेको छ। जसले सम्झौताका लागि कुनै ठाउँ बाँकी राख्दैन।’ एससीएमपी
Shares

प्रतिक्रिया