बुधबार राति उत्तर कोरियाले विशाल सैन्य परेड आयोजना गर्यो। राजधानी प्योङयाङको सडकमा विश्वको जुनसुकै कुनामा प्रहार गर्न मिल्ने अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र निकालिएको थियो।
तर, परेडका रमितेहरु र विश्वकै ध्यान ती क्षेप्यास्त्रभन्दा बढी एउटी दस वर्षीया बालिकामाथि थियो। उनी हुन्, किम जोङ उनकी छोरी किम जु ए। जसले केही समययता उत्तर कोरियाका राजकीय समारोहहरुमा केन्द्रीय स्थान प्राप्त गर्दै आइरहेकी छिन्।
उनी किमकी दोस्रो सन्तान भएको विश्वास गरिन्छ। उनका अरु सन्तान कहिल्यै पनि सार्वजनिक भएका छैनन्। बुधबारको परेडमा पनि कालो पहिरन लगाएर जु ए बुबा किमसँगै बाल्कोनीमा खडा भएकी थिइन्। तीन महिनाको अवधिमा यो उनको पाँचौँ सार्वजनिक उपस्थिति हो।

यति कम उमेर, त्यसमाथि छोटो अवधिमै दिइएको यति धेरै महत्वका कारण उनलाई भविष्यको उत्तर कोरियाको नेताका रुपमा हेर्न थालिएको छ।
पहिलो पटक उनी ह्वासङ–१७ नामक उत्तर कोरियाको सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र परीक्षणका बेला गत नोभेम्बरमा सार्वजनिक भएकी थिइन्। त्यतिबेला पनि अनुमान भएका थिए– के किम जोङ उनकी उत्तराधिकारी यिनै हुन् त?
तर, त्यतिबेला सो अनुमान अलि बढाचढाइजस्तो सुनिन्थ्यो।

किनभने सेतो ज्याकेट, रातो जुत्ता लगाएकी बालिका साह्रै सानी देखिन्थिन्। धेरैले सोचे, सायद किम आफूलाई असल बाबुको रुपमा देखाउन चाहन्छन्। त्यसैले छोरीको हात समातेर देखिए। अर्काथरीले सोचे, यत्तिका हतियार र परिवार सार्वजनिक गरेर उनी आफ्नो शासन लामो समय टिक्छ भन्ने सन्देश दिन चाहन्छन्।
तर, हरेक सार्वजनिक उपस्थितिसँगै उनको हैसियत बढ्दै गएको देखिन्छ।
परेडको अघिल्लो दिन मंगलबार राति उत्तर कोरियाका शीर्ष सैन्य जर्नेलहरुका लागि दिइएको भोजमा उनी सरिक भइन्। उनले सेतो सर्ट र कालो स्कर्ट सुट लगाएकी थिइन्। कपाल पछाडि बाँधिएको थियो।

सो तस्बिर उत्तर कोरिया नियाल्नेहरुलाई चकित बनाउने खालको थियो। किनभने तस्बिरमा केन्द्रीय स्थान उनैले ओगटेकी थिइन्, जो आमा र बुबाको बीचमा बसेकी थिइन्। पछाडि सैन्य अधिकारीहरु थिए।
अर्को चाखलाग्दो विषय उनलाई चिनाउन प्रयोग गरिएको सरकारी भाषा पनि हो।
जु ए पहिलो पटक सार्वजनिक हुँदा उत्तर कोरियाली सञ्चारमाध्यमले उनलाई किमकी ‘प्रिय’ छोरी भनेका थिए। सैन्य भोजपछि उनलाई ‘सम्मानित’ छोरी भन्न थालिएको छ। यो विशेषण उत्तर कोरियामा अत्यन्त पूजनीय व्यक्तिहरुका लागि मात्र प्रयोग हुन्छ। किनभने किम जोङ उनलाई पनि उत्तराधिकारी घोषित भइसकेपछि मात्र ‘सम्मानित कमरेड’ भन्न थालिएको थियो।
कतिपय विश्लेषकहरुका अनुसार किम जु एलाई छोरीको रुपमा नभई राजकुमारीका रुपमा चिनाइरहेका छन्।
‘जर्नेलहरुले उनीसँग गरेको व्यवहार र बुबाले गरेको व्यवहार हेर्दा उनलाई छोरीका रुपमा मात्र होइन, राजकुमारीका रुपमा प्रस्तुत गरेको छनक पाइन्छ,’ एसियन इन्स्टिच्युट फर पोलिसी स्टडिज, सोलका गो म्युङ ह्युन भन्छन्, ‘किम जोङ उन आफ्नो शासनलाई युरोपेली शैलीको राजतन्त्रहरुको नक्कल गरेर सामान्यीकरण गर्न चाहन्छन्।’
स्थापनाकालदेखि नै उत्तर कोरियाको शासन किम परिवारले चलाउँदै आएको छ। अहिले सो परिवारको तेस्रो पुस्ता सत्तामा छ। किम जोङ उन निश्चय नै चौथो पुस्तालाई सत्ताको बागडोर सुम्पिन चाहन्छन्।

तर, जु एलाई उत्तराधिकारी बनाउन चाहेकै भए पनि यति चाँडो, यति तीव्र गतिमा उनलाई अगाडि ल्याइनुको कारण के हो त? आखिर किम भर्खर ३९ वर्षका भए र जु ए अझै बच्चै छिन्।
किमलाई उनका बुबा किम जोङ इलले आठ वर्षकै उमेरमा उत्तराधिकारीका रुपमा चिनाइएका थिए। तर, त्यसको जानकारी सैन्य नेतृत्वबाहेक कसैलाई दिइएको थिएन।
सार्वजनिक रुपमा त किम जोङ इलको मृत्युको एक वर्षअघि मात्र यो किमलाई उत्तराधिकारी घोषित गरिएको थियो। त्यसैले शासकका रुपमा उनले कठिन सुरुवात गरे। त्यतिबेला उनी निर्दयतापूर्वक शक्ति एकीकृत गरे।

सायद उनी आफ्नी छोरीलाई अलि सहज सत्ता हस्तान्तरण होस् भन्ने चाहन्छन्। सायद, उनको स्वास्थ्य उति राम्रो छैन र सायद उनीसँग लामो समय छैन। यी कुनै पनि कुरा थाहा पाउन असम्भव छ।
किमलाई लामो समय चाहिने अर्को कारण हुनसक्छ– पितृसत्ता। उत्तर कोरियामा पितृसत्ताले गहिरो जरा गाडेको छ। यो देशको नेतृत्व महिलाले कहिल्यै गरेका छैनन्। जबकि उच्च पदहरुमा भने महिला हुने गर्छन्। विदेशमन्त्री चोइ सन हुइ, किमकी बहिनी किम यो जोङ र पत्नी रि सोल जु यो मुलुकका हाइप्रोफाइल महिला मानिन्छन्।
त्यसैले मानिसहरुको धारणा बदल्न पनि किम अहिलेदेखि नै छोरीलाई अघि सार्न चाहन्छन्।
किम वंशको भएका कारण जु ए बुबाको उत्तराधिकारी बन्न सक्ने विज्ञहरु बताउँछन्। तर, उत्तराधिकारी बन्नुअघि किमका सन्तानले उच्च पद लिएर आआफ्नो क्षमता पुष्टि गर्नुपर्ने इन्टरनेसनल क्राइसिस ग्रुपका परामर्शदाता क्रिोस्टोफर ग्रिन बताउँछन्।
किम र उनका बुबाले पनि सत्ता सम्हाल्नुअघि सरकारमा महत्वपूर्ण पद लिएर आफूलाई प्रमाणित गरेको उनको भनाइ छ। एजेन्सी
Shares

प्रतिक्रिया