युक्रेनमा भइरहेको लडाइँलाई बारम्बार पहिलो विश्वयुद्धसँग दाँज्ने गरिन्छ। ठूलो संख्यामा फौज जम्मा गर्ने, तोपगोला बर्साउने र आमनेसामने खाल्डो भित्रबाट सैनिकहरु आपसमा रगडिएर लड्ने। अनि शत्रुको नास गर्ने।
तर, अब गर्मी सुरु भएसँगै रुसले गर्नसक्ने आक्रमण यस्तो नहुने सैन्य विश्लेषकहरुको भनाइ छ।
अघोषित रुपमा, फरकफरक दिशाबाट र यसअघिभन्दा अलग रणनीति लिएर रुसले आक्रमण गर्नसक्ने सैन्य अधिकारीहरुको भनाइ छ। जसमा वायु सेनाको भूमिका ज्यादा हुने उनीहरुको आकलन छ।
‘युक्रेनमा रुसको आक्रमण समको लडाइँ (पहिलो विश्वयुद्धमा बेलायती–फ्रान्सेली र जर्मन सैनिकबीच भएको लडाइँ) जस्तो हुने छैन। अलग तरिकाले, अलग समयमा मोर्चाको अलगअलग भागमा लडाइँ हुनेछ,’ एक पश्चिमा रक्षा अधिकारीले भने।
युक्रेनको केही हिस्सामा आक्रमण सुरु भइसकेको छ।
‘रुसी आक्रमण सुरु भएको एक साता भइसकेको छ,’ युक्रेनको विशेष सैन्य दस्ताका एक अधिकारी तारा बेरेजोवेत्स भन्छन्, ‘थप सैनिक आक्रमणमा सामेल हुने आकलन छ।’
उत्तरमा क्रेमिन्नाको वरिपरि र दक्षिणमा वुलेदारनजिकै रुसी सेनाले आक्रमण गरेको छ। रुसका तोप आक्रमण पनि पहिलेभन्दा सघन भएको छ।

अहिलेसम्म रुसले युक्रेनभर केन्द्रीकृत आक्रमणका लागि चाहिने सबैथोक जम्मा पारेको संकेत देखिँदैन। तर, जमिनमा नराम्रा संकेतहरु देखिन थालेका छन्। पश्चिमा गुप्तचर रिपोर्टअनुसार रुसले युक्रेनको सीमानजिक लडाकु विमान, बमवर्षक विमानहरु र हेलिकोप्टर जम्मा गर्न थालेको छ। जसले स्थल आक्रमणमा हवाई सहयोग पुर्याउनेछ।
मस्कोले युक्रेनको उत्तरपूर्वी सीमानजिक पर्ने वोरोनेज र कुर्स्क क्षेत्रमा नयाँ सैन्य शिविर पनि स्थापना गरेको छ। एक वर्षअघि आक्रमण सुरु गर्नुअघि उसले त्यही ठाउँमा सैनिक राखेको थियो।
‘यी शिविरमा जगेडा सैनिक रहने विश्वास छ। उनीहरुलाई मोर्चानजिक तैनाथ गरिएको पहिलो संकेत हो यो,’ यो युद्धलाई नजिकैबाट नियालिरहेको रोचान कन्सल्टिङका निर्देशक कन्राड मुजिका भन्छन्, ‘उनीहरु चाँडै युक्रेनमा सारिन सक्छन्। जसले युद्धको गति बढाउनेछ।’
उत्तरपट्टिबाट दसौँ हजार जगेडा सैनिक खटाएर दक्षिणतर्फबाट लडिरहेका रुसी सैनिकसँग मिसाउने र समग्र दोनवास क्षेत्र कब्जा गर्ने पुटिनको योजना रहेको विश्लेषकहरु बताउँछन्।

‘युक्रेनमा रुसी सेनाका कमान्डर इन चिफ जर्नेल गेरासिमोभलाई पुटिनले सुम्पेको जिम्मेवारी यही हो,’ किभस्थित युक्रेनियन सेक्युरिटी एन्ड कोअपरेसन सेन्टर नामक थिंक ट्यांकका प्रमुख सेर्गेइ कुजान भन्छन्, ‘हाम्रो काम भनेको रक्षात्मक लाइनमा अडेर आक्रमणलाई असफल तुल्याउनु हो।’
अहिलेसम्म युक्रेन रक्षामा सफल देखिन्छ। खासगरी वुलेदारवरिपरि। पछिल्ला कयौँ दिनदेखि रुसी सेनाले अनेक पटक यो ठाउँमा आक्रमण गरिरहेको छ। अर्कोतिर बाखमुतमा पनि सघन आक्रमणको सामना गरिरहेको छ।
‘पुटिन अधीर छन्। उनी पर्खिन चाहँदैनन्। उनका वफादारहरुले पनि हुन्छ हुन्छ त्यसै गर्छौं भन्छन्,’ ¥यान्ड थिंक ट्यांककी अध्येता डारा म्याजिकट भन्छिन्, ‘उनी शक्तिको भरमा जित्ने विधि लगाउँदैछन्– सैनिकहरुको एकपछि अर्को लहर अनि तोपगोला। यो निकै महंगो हुन्छ।’
अमेरिकाकाले गएको वर्ष २ लाख रुसी सेना घाइते भएको वा मारिएको अनुमान गरेको छ। त्यो भनेको साताको ४ हजार र महिनाको १७ हजार हो।
यही दरअनुसार थपिएका ३ लाख जगेडा सैनिक १७ महिना टिक्ने देखिन्छ। तर, कुनै पनि सैन्य टुकडीको ३० प्रतिशत हिस्सा घाइते वा मारिएपछि सो टुकडी प्रभावहीन हुने किङ्स कलेज लन्डनका भिजिटिङ फेलो माइक मार्टिन बताउँछन्।
‘यो नीतिले रुस युक्रेन कब्जा गर्न सफल हुने छैन,’ उनले भने।
त्यसमाथि अहिले खटाइएको सेना पहिलेजति चुस्त नरहेको विश्लेषकहरुको भनाइ छ।
त्यसकारणले पनि रुसले अहिले अख्तियार गरिरहेको सैनिकलाई शत्रुविरुद्ध रगड्ने तरिका आउँदो आक्रमणसँगै बदल्ने उनीहरुको छ।
‘रुसी सेना जति खराब थियो, अब त्यस्तो हुने छैन,’ सुरुका पश्चिमा अधिकारी भन्छन्, ‘पाठ सिकेर सुधार हुनु अवश्यंभावी छ।’

त्यसमध्ये एउटा परिवर्तन हुनसक्छ– लडाइँमा रुसी हवाई शक्तिको ज्यादा हिस्सेदारी। रुसका ८० प्रतिशत विमान र हेलिकोप्टर राम्रो अवस्थामा रहेको पश्चिमा गुप्तचर निकायको विश्वास छ।
‘रुसले आफ्नो हवाई शक्तिलाई अपेक्षाकृत लडाइँमा लगाएको छैन। त्यसैले आउँदो महिनाहरुमा तिनीहरुको ज्यादा प्रयोग देखिने मेरो अपेक्षा छ,’ अमेरिकी रक्षा मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने।
पूर्वी युक्रेनको मौसम अहिले नै आक्रमणका लागि परिपक्व भइसकेको छैन।
पानी जमाउने तापक्रम यही सातासम्म रहनेछ। जसले स्थल आक्रमणमा सघाउँछ। तर, त्यसपछि तापक्रम शून्यभन्दा माथि चढ्ने पूर्वानुमान गरिएको छ। जसले गर्दा जमिन हिलाम्य हुनेछ।
जब वसन्त आउनेछ र रुसले सारा शक्ति लगाएर आक्रमण गर्नेछ, तब निकै कठिन र रक्तपातपूर्ण लडाइँ सुरु हुनेमा दुवै पक्ष विश्वस्त छन्। वाग्नर अर्धसैनिक समूहका प्रमुख यव्गेनी प्रिगोजिनले गत साता भनेका छन्, ‘रुसलाई दोनबास कब्जा गर्न डेढदेखि दुई वर्ष लाग्नेछ।’
‘त्यसबेला निकै कठिन हप्ताहरु हुनेछन्। कहिले युक्रेन पछि हट्नेछ, कहिले अघि,’ सुरुका पश्चिमा अधिकारीले भने, ‘युक्रेनीहरुका लागि यो निकै लामो र कठिन वर्ष हुनसक्छ।’
(फाइनान्सियल टाइम्सबाट)
Shares

प्रतिक्रिया