ग्लोबल


ट्रम्पको मुद्दामा जोडिएकी अर्की महिला को हुन्?

ट्रम्पको मुद्दामा जोडिएकी अर्की महिला को हुन्?

नेपालखबर
चैत २२, २०७९ बुधबार १२:१९, काठमाडौँ

मंगलबार अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्कस्थित अदालतमा ३४ वटा मुद्दाको सामना गर्नुपर्‍यो। प्रहरीसामु आत्मसमर्पण गरेपछि उनले ५७ मिनेटसम्म प्रहरी नियन्त्रणमा बस्नुपर्‍यो।

उनीविरुद्धको प्रमुख मुद्दा पोर्नस्टार स्टोर्मी ड्यान्यल्सलाई सन् २०१६ को चुनावअघि १ लाख ३० हजार अमेरिकी डलर दिएको आरोप हो। 

तर ड्यान्यल्सपछि उनीसँग अर्की एक महिलाको नाम पनि जोडिएको छ। अभियोजकले उनीविरुद्ध अदालतमा मुद्दा पेश गर्दा करेन मेकडोगल नामकी अर्की महिलाको नाम पनि उल्लेख गरेका छन्।

ट्रम्पले मेकडोगललाई पनि आफ्नो सम्बन्धबारे मौन रहन भन्दै पैसा दिएको आरोप छ, यसले उनीविरुद्धको आरोप पुष्टि हुने सम्भावना बढेको छ।

मेकडोगल सिकागोस्थित प्लेब्वाई म्यागेजिनकी पूर्वमोडल हुन्। उनले आफू ट्रम्पसँग सम्बन्धमा रहेको दाबी गरेकी छन्। उनले ट्रम्पसँग १० महिना सम्बन्धमा रहेको बताएकी छन्। तर ट्रम्पले उक्त आरोप अस्वीकार गरेका छन्।

ट्रम्पको मुद्दामा जोडिएको दोस्री महिला को हुन्? र, यो मुद्दासँग कसरी जोडिइन् भन्ने केही तथ्य बाहिर आएका छन्।

अमेरिकाको इन्डियानास्थित गेरीमा जन्मिएकी उनी मिसिकन सहरमा गएकी थिइन्। उनको बाल्यकाल त्यहीँ बित्यो। २० वर्षको उमेरमा स्वीमवेयर ब्युटी प्रतियोगिताबाट मोडलिङमा छिरेकी थिइन्। त्यसपछि प्लेब्वाई म्यागेजिनमा आवद्ध भइन्। त्यहीँ उनले 'प्लेमेट अफ द इयर १९९८' जितिन्। 

त्यसपछि उनले फिटनेस मोडलका रूपमा काम गरिन्। सन् १९९९ मा पुरुष फिटनेस म्यागेजिनमा उनको कभर तस्वीर छापियो।

पुरुष फिटनेस म्यागेजिनमा तस्वीर छापिने उनी पहिलो महिला थिइन्। टेलिभिजन विज्ञापन हुँदै चलचित्रमा पनि प्रवेश गरिन्। सन् २००० मा बनेको चार्ली एन्जल्समा क्यामियोको भूमिका निर्वाह गरेकी थिइन्।

मोडलिङकै क्रममा सन् २००६ मा उनले लसएन्जेल्समा ट्रम्पलाई भेटेको न्यूयोर्कको एक म्यागेजिनले उल्लेख गरेको छ।

जहाँ ट्रम्प द अपरेटिङको एपिसोड रेकर्ड गर्दै थिए। मेकडोगल प्लेब्वाई म्यागेजिनको काममा त्यहाँ पुगेकी थिइन्।

उनले भनेकी छन्, 'उनले मलाई देखेपछि उनैले मन पराए, मसँग कुरा गरे। सुन्दरी भनेर प्रशंशा गरे यस्तै यस्तै।' 

त्यसपछि १० महिना आफूहरू सम्बन्धमा रहेको उनले बताएकी छन्। अगाडि भनेकी छन्, 'महिनामा कम्तीमा ५ पटक हाम्रो भेट हुन्थ्यो।'

सन् २०१६ मा ट्रम्प पहिलोपटक अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बनेका थिए। त्यसबेला मेकडोगल नेसनल इन्क्वायररलाई विशेष खुलासाका रूपमा ट्रम्पसँगको सम्बन्धबारे लेख लेखेकी थिइन्।

तर १ लाख ५० हजार अमेरिकी डलर दिएर मेकडोगललाई दिएर चुप लगाएको आरो ट्रम्पमाथि छ। उक्त लेख प्रकाशन हुन नदिन इन्क्वायररलाई पनि किनेको आरोप ट्रम्पलाई लागेको छ। 

अमेरिकामा यसरी कुनै लेखलाई किनेर प्रकाशन रोक्नुलाई 'क्याच एण्ड किल' अपराधका रूपमा लिइन्छ। सन् २०२१ मा अमेरिकी संघीय चुनाव आयोगले एनक्वायररले प्रभावमा परी मेकडोगलको लेख प्रकाशनबाट रोकेको आरोप लगाएको थियो।

सन् २०१६ को राष्ट्रपति निर्वाचनमा अवैध रकम लिई ट्रम्पको चुनावी अभियानमा सहयोग गरेको भन्दै २ वर्षअघि इन्क्वायरलाई १ लाख ८७ हजार डलर जरिवाना तिराइएको थियो।

मेकडोगलले सन् २०१८ मा सार्वजनिक रूपमा ट्रम्पपत्नी मेलानियासँग माफी माग्दै त्यो सम्बन्ध सम्झिँदा आफूलाई घृणा लाग्ने बताएकी थिइन्।

तर ट्रम्पले भने सधैँ मेकाडोगलसँग कुनै सम्बन्ध नभएको बताउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad