ad ad

ग्लोबल


क्यानडामा शिखहरूले मनाए इन्दिरा गान्धीको हत्या-उत्सव, भारतको आपत्ति

क्यानडामा शिखहरूले मनाए इन्दिरा गान्धीको हत्या-उत्सव, भारतको आपत्ति

नेपालखबर
जेठ २६, २०८० शुक्रबार ८:३२, काठमाडौँ

क्यानडामा बस्ने शिख समुदायले भारतीय पूर्वप्रधानमन्त्री (कार्यावधि १९६६-१९७७ र १९८०-१९८४ ) इन्दिरा प्रियदर्शिनी गान्धी को हत्याको उत्सव मनाएपछि भारतले आपत्ति जनाएको छ।

अपरेशन ब्लु स्टारको ३९ औँ वार्षिकोत्सवको ६ जुनमा क्यानडाको ब्राम्पटन सहरमा पाँच किलोमिटर लामो जुलुस निकालिएको थियो। जुन यात्रामा इन्दिरा गान्धीको हत्याको दृश्य गाडीमा देखाइएको थियो । 

जसमा रगतले भिजेको साडी लगाएकी इन्दिरा गान्धीको पुत्ला पनि थियो, दुई शिख युवाको पुत्लाले इन्दिरा गान्धीको पुत्लामा बन्दुक दागिरहेको देखिन्थ्यो।

 क्यानडामा इन्दिरा गान्धीको हत्याको उत्सव मनाउँदै शिख समुदाय

यस झाँकीमा एक पोस्टर पनि राखिएको थियो, जसमा दरबार साहिबमा भएको आक्रमणको बदला लिइएको लेखिएको थियो। प्रदर्शनकारीहरूले‍ क्यानडास्थित भारतीय वाणिज्य दूतावासअघि समेत पुगेर प्रदर्शन गरेका थिए। शिख पृथकतावादीहरूले इन्दिरा गान्धीको हत्याको उत्सव मनाउँदै झाँकी प्रदर्शन गरेका थिए।

उक्त घटनामा भारतले आपत्ति जनाएको छ। भारतका विदेशमन्त्री एस जयशंकरले बिहीबार आपत्ति जनाउँदै ठूलो समस्याका रूपमा टिप्पणी गरेका छन्।

भारतीय विदेशमन्त्री एस जयशंकर

'क्यानाडाले पृथकतावादी, चरमपन्थी र हिंसालाई समर्थन गर्नेहरूलाई फस्टाउन जारी राखेको छ। यसलाई भोट बैंक बनाइएको बाहेक हामी अरु बुझ्दैनौँ,' उनले भनेका छन्, 'यो घटना द्विदेशीय सम्बन्ध र क्यानडाका लागि राम्रो होइन।'

यसअघि भारतीय कांग्रेस नेता मिलिन्द देवराले सामाजिक सञ्जालमा क्यानडामा निकालिएको झाँकीको आलोचना गर्नुपर्ने बताएका थिए। एस जयशंकरले प्रतिक्रियापछि देवराले उक्त प्रतिक्रियामा समर्थन गरेका छन्।

सन् १९८० पछि भारतमा स्वतन्त्रता खोजिरहेका शिख समुदायले पृथकतावादी खालिस्तान आन्दोलन चलाएका थिए। नेता जर्नेल  सिंह भिन्द्रवाले र उनका समर्थकले अमृतसारस्थित हरमन्दिर साहिबामा आफ्नो मुख्यालयमा परिणत गरेका थिए। जसलाई कारवाही गर्न प्रधानमन्त्री इन्दिरा गान्धीले भारतीय सैन्य अपरेसन 'अपरेसन ब्लु स्टार' चलाएकी थिइन्, जुन १ देखि ८ सम्म चलेको उक्त अपरेसनमा ४१० जना मारिएका थिए भने १ हजार बढी घाइते भएका थिए। करिब १५ सय जनालाई हिरासतमा लिइयो।

त्यसैबीच भिन्द्रवाले पनि मारिए र अमृतसार खाली गरियो।

जर्नेल सिंह भिन्द्रवाले

त्यसको ४ महिनापछि ३१ अक्टोबरमा इन्दिरा गान्धीलाई उनका दुई शिख अंगरक्षकहरू सतवंत सिंह र बेअन्त सिंहले गोली हानी हत्या गरेका थिए। 

बुवा जवारलाल नेहरूको मृत्युपछि भारतको प्रधानमन्त्री बनेकी इन्दिराको बंगलादेशलाई पाकिस्तानबाट अलग गराउन, बैंकलाई राष्ट्रियकरण गर्न र भारतलाई परमाणुशक्ति सम्पन्न राष्ट्र बनाउन योगदान रहेको मानिन्छ। तर इमर्जेन्सी लगाएको कारण आलोचित पनि भएकी थिइन्।

अमृतसारमा दमन गरेको भन्दै उनको हत्या भएपछि भारतमा शिख विरोधी दंगा मच्चिएको थियो। त्यस क्रममा दिल्लीमा मात्रै करिब ८ हजारसहित देशभर १७ हजार शिख मारिएका थिए। त्यस क्रममा शिख समुदायका घर जलाइएको, पुरुषलाई बाँधेर महिलाको बलात्कार गरेको, तरबारले हानेर हत्या गरेको जस्ता घटना भए पनि कुनै कारवाही भएको थिएन। २० हजार शिख सहरबाट भागेका थिए।

तर चार वर्षअघि दिल्ली अदालतले उक्त घटनाका आरोपीलाई दोषी ठहर गर्दै सजाय सुनाएको थियो। घटनाको ३४ वर्षपछि भारतीय कांग्रेस नेता धमाधम दोषी ठहर भएका थिए, जस क्रममा यशपालसिंहलाई फाँसीको सजाय सुनाइएको थियो भने नरेश सहरावत र सज्जन कुमारलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो।

खालसामा परेड दिँदै शिख समुदाय

भारतको पञ्जाब राज्यपछि क्यानडामा शिखहरूको सबैभन्दा बढी जनसंख्या छ। यस वर्षको सुरुमा भारतले क्यानाडाली उच्च आयोगलाई बोलाएर क्यानडामा खालिस्तान समर्थकहरूले गरेको विरोधमा चिन्ता व्यक्त गरेको थियो। -एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .