ad ad

ग्लोबल


बेलायतमा विदेशी विद्यार्थीलाई परिवार ल्याउन कडाइ

बेलायतमा विदेशी विद्यार्थीलाई परिवार ल्याउन कडाइ

रासस/एएनआई
मंसिर १९, २०८० मंगलबार १४:५५, लन्डन

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमबार देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदम चालिएको घोषण गरेका छन्।

प्रधानमन्त्री सुनकको ती नयाँ कदमलाई अध्यागमन दर घटाउने सरकारको कट्टरपन्थी कार्यका रूपमा वर्णन गर्दै बेलायतलाई फाइदा पुर्‍याउने सुनिश्चित रहेको निष्कर्ष निकालिएको छ। 

नयाँ उपायहरूको शृङ्खलाका रूपमा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूले जबसम्म स्नातकोत्तर अनुसन्धान पूरा गर्दैनन् तबसम्म उनीहरूको परिवारलाई बेलायतमा ल्याउनबाट रोक लगाइने छ।

साथै यो कदमबाट दक्ष विदेशी कामदारले देशमा काम गर्न भिसा थप्न चाहे न्यूनतम पारिश्रमिक बढाउनु पर्ने बाध्यता सिर्जना हुने छ।

प्रधानमन्त्री सुनकले भने- अध्यागमन धेरै उच्च छ। आज हामी यसलाई घटाउन ‘कट्टरपन्थी’ बनेर कारबाही गरिरहेका छौँ। यी कदमहरूले बेलायतलाई फाइदा पुर्‍याउने कुराको सुनिश्चित गर्नेछ।

यस नयाँ प्रावधानअन्तर्गत  स्नातकोत्तर अनुसन्धान डिग्रीमा नपुगेसम्म विदेशी विद्यार्थीहरूलाई आफ्नो परिवारलाई बेलायतमा ल्याउन प्रतिबन्ध लगाउनेछ। 

बेलायतमा कुल माइग्रेसन गत वर्ष उच्च स्तरमा पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ। यसले बेलायत सरकारलाई दबाब थपेपछि यस मुद्दालाई राजनीतिक विषय बनाइएको सीएनएनले उल्लेख गरेको छ। 

बेलायतमा सन् २०२२ मा ६ लाख ६ हजार मानिसको बसाइसराइ भएको राष्ट्रिय तथ्याङ्कको कार्यालय (ओएनएस) ले  जनाएको छ। त्यसैगरी १२ लाख मानिस  बेलायत प्रवेश गरेका छन् भने झन्डै आधा सङ्ख्याले  देश छाडेर गएका छन्।

सीएनएनका अनुसार कन्जरभेटिभ सरकारहरूले बेलायतमा सर्ने मानिसहरूको सङ्ख्यामा ठूलो मात्रामा कमी ल्याउने वाचा गरे तापनि सहज रूपमा त्यसो हुन सकेको छैन। विशेष गरी ब्रेक्सिटको परिप्रेक्ष्यमा हेर्दा यसका समर्थकहरूले  सिमानाहरू ‘नियन्त्रण’ गर्न बेलायतलाई आवश्यक कदमको रूपमा यो पछिल्लो कदमलाई लिएका छन्। 

बेलायत आइपुगेका मानिसमा ९ लाख २५ हजार गैरईयु नागरिक  रहेको र तीमध्ये १२ जनामा एक शरण खोज्ने रहेको तथ्याङ्कले देखाएको छ। गैरईयु देशहरूबाट बेलायत बसाइ सर्नेहरूमा कामको खोजी,  अध्ययन र मानवीय उद्देश्य प्रमुख रहेरको ओएनएसमा अन्तरराष्ट्रिय आप्रवासन केन्द्रका निर्देशक जे लिन्डोपले  उल्लेख गरेका छन्। 

यसैगरी गत वर्ष बेलायतको अध्यागमन तथ्याङ्कका अनुसार सबैभन्दा धेरै भारतीय नागरिकहरू बेलायतमा अध्ययन, कामको खोजी र पर्यटन भिसा बोकेर प्रवेश गरेका थिए। 

जुन २०२२ को अन्त्यमा २ लाख ५८ हजारभन्दा बढी भारतीय नागरिकहरूले भ्रमण भिसा प्राप्त गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ६३० प्रतिशतले बढी हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .