ad ad

ग्लोबल


गाजामा इजरायलको बमबारी जारी, पछिल्लो २४ घण्टामा केके भए?

गाजामा इजरायलको बमबारी जारी, पछिल्लो २४ घण्टामा केके भए?

नेपालखबर
मंसिर २१, २०८० बिहिबार २२:३९, काठमाडौँ

आज बिहीबार, डिसेम्बर ७ तारिख इजरायलमा हमासले आक्रमण गरेको दुई महिना पूरा भएको छ।

यस हमलामा हमास लडाकुहरूले इजरायली सीमामा प्रवेश गरेर ठूलो संख्यामा इजरायली नागरिकलाई मारेका थिए। यस क्रममा उनीहरूले २४० इजरायली नागरिकलाई बन्धक बनाएर लगेका थिए।

जवाफमा इजरायलले गाजामा आक्रमण गरेको थियो। यी आक्रमणमा हालसम्म हजारौँ मानिसको मृत्यु भइसकेको छ।

गतसाता सात दिने युद्धविराम समाप्त भएपछि इजरायलले गाजामा फेरि हवाई र स्थल हमला सुरु गरेको छ। बितेको २४ घण्टामा के के भयो? थाहा पाउनुहोस्–

–उत्तरी गाजा लगायत दक्षिणी गाजाका धेरै क्षेत्रमा इजरायलको भारी बमबारी जारी छ।

–इजरायल र गाजाबीचको युद्धविराम समाप्त भएपछि उत्तरतर्फ राहत सामग्री अझै पुगेको छैन।

–गाजाको उत्तरमा रहेको जबलिया शरणार्थी शिविरमा इजरायलको भीषण बमबारी जारी छ। यो गाजापट्टीको सबैभन्दा सघन जनसंख्या भएको क्षेत्र मात्र होइन, यो त्यहाँको सबैभन्दा ठूलो शरणार्थी शिविर पनि हो। संयुक्त राष्ट्रसंघका अनुसार युद्धअघि १.४ वर्ग किलोमिटरको यो क्षेत्रमा १ लाख १५ हजार मानिस बस्ने गरेका थिए।

–इजरायलले गाजाको उत्तरी भाग छाड्न मानिसहरूलाई चेतावनी दिएको थियो तर हमासको स्थानीय प्रशासन अझै पनि हजारौँ मानिस त्यहाँ बसिरहेको बताउँछ।

–इजरायली सेनाले जबलियामा धेरै बन्दुकधारीहरूलाई मारेको र सुरुङको सञ्जाल फेला पारेको दाबी गरेको छ। सेनाले त्यहाँ ठूलो संख्यामा हतियार र तालिम स्थल फेला पारेको बताएको छ।

–इजरायली सेनाले गाजाको दक्षिणमा रहेको खान युनिस सहरमा प्रवेश गरेको र गाजामा हमासको राजनीतिक शाखाका प्रमुख याह्या सिनवारको घर घेरेको दाबी गरेको छ। ६१ वर्षीय सिनवार हमास प्रमुख इस्माइल हानियापछि हमासको दोस्रो कमान्डमा छन्।

–इजरायली सेनाले उनी घरमा नभएको बताएको छ। कसैले पत्ता लगाउन नसकुन् भनेर उनी आफ्ना सुरक्षाकर्मीसहित सुरुङभित्र कतै लुकेर बसेको र कसैको सम्पर्कमा नरहेको विश्वास गरिएको छ।

–गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणका कारण गाजामा हालसम्म १७ हजार १७७ जनाको मृत्यु भएको र ४६ हजार घाइते भएको जनाएको छ।

–स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–किद्राले विगत २४ घण्टामा इजरायली हमलामा ३५० प्यालेस्टाइनीको मृत्यु भएको र १९०० जना घाइते भएको बताए।

–संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गाजामा मानवीय आधारमा तत्काल युद्धविरामको माग गर्दै अस्पतालहरू युद्धभूमिमा परिणत भएकाले गाजाको सम्पूर्ण स्वास्थ्य प्रणाली ध्वस्त भएको बताएका छन्। उनले अहिलेको अवस्था हेर्दा गाजा फेरि पहिलेकै अवस्थामा फर्किन्छ भन्न नसकिने बताएका छन्।

–इजरायलका विदेशमन्त्रीले उनको भनाइको कडा आलोचना गरेका छन्। उनले गुटेरेसको कार्यकाल ‘विश्व शान्तिका लागि खतरा’ भएको आरोप लगाएका छन्। बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .