यो साल बोइङले धेरै वटा संकट सामना गरिसकेको छ। अब त सबै ठिक होला भनेको बेला सोमबार एउटा ७८७ ड्रिमलाइनर विमान उडिरहँदा अचानक हलचल भयो र दर्जनौँ यात्रु घाइते भए।
पाइलटले केही क्षणका लागि आफूले विमानको नियन्त्रण गुमाएको बताए।
धन्न पाइलटले विमान नियन्त्रणमा लिन सफल भए र विमान सुरक्षित अवतरण भयो। तर, अस्ट्रेलियाबाट न्युजिल्यान्ड उडेको ल्याटम एयरलाइनको सो विमानमा किन समस्या आयो, स्पष्ट छैन। एयरलाइनले यसलाई प्राविधिक घटना भनेको छ।
बोइङले जानकारी संकलनको काम भइरहेको जनाएको छ।
यो वर्षको पहिलो साताबाटै बोइङको खराब दिन सुरु भएको थियो। त्यतिबेला अलास्का एयरलाइन्सको ७३७ म्याक्स विमान उड्नेबित्तिकै एक पटो खस्यो। छानबिनबाट बोइङले त्यहाँ बोल्न नराखेको पुष्टि भयो।
त्यसपछि अमेरिकाभर ७३७ म्याक्स ग्राउन्डेड भयो। आपराधिक छानबिन सुरु भयो। सेयरको भाउ ओरालो लाग्यो र कम्पनी आफ्नो मूल्यको ४० अर्ब डलर गुमायो।
मुद्दा, सम्भावित जरिवाना र व्यवसायमा आएको अड्चनका कारण बोइङले अझै अर्बौं डलर गुमाउन सक्छ।
तर, खराब समाचारको शृंखला त्यहीँ रोकिएन। फेब्रुअरीमा युनाइटेड एयरलाइन्सको ७३७ म्याक्सका पाइलटले विमान अवतरण गर्दैगर्दा फ्लाइट कन्ट्रोल जाम भएको बताए। त्यसको छानबिन भइरहेको छ।
दुई साताअघि ७३७ म्याक्स र ७८७ ड्रिमलाइनर मोडेलको एउटा उपकरणमा समस्या रहेको र त्यसका कारण इन्जिनले बल गुमाउनसक्ने अमेरिकाको संघीय उड्डन प्रशासनले बताएको छ।
सोमबार बोइङको सेयर मूल्य ३ प्रतिशतले घट्यो भने मंगलबार ४.५ प्रतिशतले।
तर, यो वर्षको कठिन सुरुवातले बोइङको सेयर मूल्यमा मात्र धक्का दिइरहेको छैन। कम्पनीको प्रतिष्ठामा आँच आउँदैछ। हरेक नयाँ दुर्घटना र खराब समाचारसँगै एयरलाइन्स, नियामक र यात्रुमाझ विश्वास फर्काउन अब बोइङलाई निकै कठिन हुनेछ। एजेन्सी
Shares
प्रतिक्रिया