ad ad

ग्लोबल


जेएनयू, जहाँ अझै हारिरहेछ मोदीको शक्ति

जेएनयू, जहाँ अझै हारिरहेछ मोदीको शक्ति

नेपालखबर
चैत १५, २०८० बिहिबार १९:९,

अर्को साता जेएनयू नामक एक बलिउड फिल्म रिलिज हुँदैछ। पोस्टरमा फिल्मको ट्यागलाइन देखिन्छ : ‘के एउटा विश्वविद्यालयले राष्ट्र नै भत्काउन सक्छ?’

जेएनयूको विस्तारित रूप भने जहाँगिर नेसनल युनिभर्सिटी भनिए पनि यो फिल्म भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) माथिको निरन्तरको आक्रमणको पछिल्लो उदाहरण हो, जुन दशकौँदेखि राजनीतिक सक्रियताको केन्द्र बन्दै आएको छ।

यो विश्वविद्यालय वामपन्थीहरूको परम्परागत केन्द्र हो। र, अहिले दक्षिणपन्थी हिन्दुबहुल खेमाको आक्रमणको निशानामा परेको छ।

फिल्ममा जस्तै प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपा पक्षधरहरू जेएनयूलाई ‘राष्ट्रविरोधी’ मान्छन्। यहाँका वर्तमान र पूर्वविद्यार्थी राष्ट्रघातको आरोपमा जेल परेका छन्। भाजपा सरकारले नियुक्त गरेको प्रशासनले शिक्षकहरूलाई शैक्षिक मापदण्ड कमजोर पारेको आरोप लगाएका छन्।

आउँदो अप्रिल र मे महिनामा भारतमा आम चुनाव हुँदै छ। जतासुकै सत्तारुढ भाजपाले जित्ने आकलन गरिएको छ।

तर, गत साता जेएनयूमा भएको विद्यार्थी युनियनको चुनावमा भने भाजपा हार्‍यो।

‘यो चुनाव दक्षिणपन्थविरुद्धको जनमतसंग्रह थियो,’ विद्यार्थी युनियनका नवनिर्वाचित अध्यक्ष धनञ्जयले भने। करिब ३ दशकमा जेएनयूको युनियन अध्यक्ष निर्वाचित हुने उनी पहिलो दलित विद्यार्थी हुन्।

दक्षिणी दिल्लीमा अवस्थित जेएनयूलाई प्रायः अलगथलग संस्थाको रूपमा हेरिन्छ। यहाँको विद्यार्थी चुनावको असर आउँदो आम चुनावमा पर्ने आशा पनि कसैलाई छैन। तर, यहाँ वामपन्थीहरूको जितले यो विश्वविद्यालय हात पार्ने भाजपाको प्रयासलाई रोकेको र वामपन्थीहरूलाई सास फेर्न दिएको उनीहरूको भनाइ छ।

जेएनयूको विद्यार्थी युनियनमा दशकौँदेखि भारतका मसिना कम्युनिस्ट पार्टीमा आबद्ध विद्यार्थी संगठनहरूको हालिमुहाली थियो। तर, १९९० को दशकमा उदाएको हिन्दु राष्ट्रवादका कारण यहाँ राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)सँग आबद्ध विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) को संगठन खुल्यो। आरएसएस भाजपाको वैचारिक मार्गदर्शक संगठन हो।

यस विश्वविद्यालयका थुप्रै उत्पादन विश्वका विभिन्न उच्च पद र सफलता हासिल गर्न सफल छन्। सन् २०१९ मा नोबेल पुरस्कार जितेका अर्थशास्त्री अविजित बनर्जी, लिबियाका पूर्वप्रधानमन्त्री अलि जिदान र नेपालका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई यहीँका विद्यार्थी हुन्। भारतीय नेताहरू सीताराम यचुरी, विदेशमन्त्री एस जयशंकर र अर्थमन्त्री निर्मला सीतारमण पनि यहीँका उत्पादन हुन्।

आइतबार चुनावको नतिजा थाहा पाउन ठूलो संख्यामा विद्यार्थीहरू युनियन कार्यालयमा भेला भएका थिए। जसमा वामपन्थीहरूलाई एबीभीपीले चुनौती दिएको थियो। तर, शीर्ष चारमध्ये तीन पदमा वामपन्थीले जिते। बाँकी एक पद पनि वामपन्थीकै समर्थनमा एक दलित समुदायकी लैंगिक अल्पसंख्यकले जितिन्।

तर, जेएनयूको भविष्य निर्वाचित विद्यार्थी नेताहरूको हातमा भन्दा आउँदो आम चुनावको नतिजामा ज्यादा निर्भर छ।

मोदी प्रधानमन्त्री बनेदेखि नै सरकारले यस विश्वविद्यालयलाई भारतमा विखण्डनकारी गतिविधिको केन्द्र मान्दै आएको छ।

उमर खालिद, सरजिल इमामजस्ता विद्यार्थी राज्यद्रोह र आतंकवादको आरोपमा पक्राउ परे। थुप्रै जेलमै छन्। चार वर्षदेखि प्रशासनले युनियनको चुनाव नगराएको विद्यार्थीको आरोप थियो।

सन् २०२० र २०२१ मा कोभिडले चुनाव हुन दिएन। त्यसपछि प्रशासनले सदाका लागि चुनाव रोक्न चाहेको यसअघिकी युनियन अध्यक्ष आइसा घोष बताउँछिन्।

‘यसपालि पनि चुनाव गराउन असम्भव जस्तै थियो। तर, विद्यार्थीहरूले एकता र आशा देखाए,’ उनी भन्छिन्। अरु सार्वजनिक विश्वविद्यालयभन्दा फरक जेएनयूमा विद्यार्थीले नै निर्वाचन आयोग गठन गरेर मतदान गराउँछन्।

भाजपाको रिस पोख्ने ठाउँ बनेको जेएनयू
अप्रिल १९ मा आम चुनाव सुरु हुँदै छ। भाजपाको चुनावी अभियानमा पक्कै पनि जेएनयूले ठाउँ पाउनेछ। यसको रुपरेखा अप्रिल ५ मा रिलिज हुने फिल्मले दिइसकेको छ।

यो फिल्म पनि बलिउडका निर्माताहरूको त्यो समूहले बनाएको हो, जो मोदी र भाजपाको प्रशस्ति गाउँछन्। 

‘जेएनयूमा वामपन्थीले जित्नु नयाँ कुरो होइन। जेएनयू अस्तित्वमा आएदेखि नै यहाँ वामपन्थीको रजगज छ,’ प्राध्यापक हरिश वानखडे भन्छन्, ‘नयाँ कुरो के हो भने वैचारिक र जनसांख्यिक रूपमा जेएनयूलाई बदल्ने केन्द्र सरकारको प्रयासले क्याम्पसलाई खास फरक पारेन। यसलाई राष्ट्रविरोधीहरूको गुफा भनेर जेएनयूलाई बदनाम गर्ने सरकारको प्रयासले दक्षिणपन्थी विद्यार्थी समूहलाई केही फाइदा भएन।’

चार वर्षसम्म साथ पाउँदा पनि एबीभीपीले नजित्नु आश्चर्यको कुरा भएको उनको भनाइ छ।

‘जेएनयू भाजपा राजनीतिको पन्चिङ ब्याग मानिन्थ्यो,’ विद्यावारिधिकी शोधार्थी अमिशा ठाकुर भन्छिन्।

यसमा वानखडे सहमत छन्। 

तर, एबीभीपीका उम्मेदवार गोविन्द डाँगी भने जेएनयूमा वामपन्थी शक्ति निभ्न लागेको बत्ती भनेर टिप्पणी गर्छन्। ‘निभ्न लागेको बत्ती धिपधिप गर्छ। त्यही निभ्न लागेको बत्ती हो वामपन्थ,’ उनले भने।

प्राध्यापक अजय गुडावर्ती यस चुनावले राष्ट्रिय राजनीतिमा प्रभाव नपार्ने बताउँछन्।

‘तथापि, सबै चुनाव मोदी अविजित छन् भनेर उनको छविका भरमा लडिँदै छ। त्यसैले चुनावमा कुनै पनि हार उनको व्यक्तित्वमा लाग्ने दाग हो,’ उनी भन्छन्।

‘किन हो कुन्नि, एक दशक सत्तामा हुँदा पनि भाजपा सरकार विश्वस्त देखिँदैन। त्यसैले ऊ जोडदार प्रचार गर्छ। उसलाई थाहा छ, ऊ त्यतिञ्जेल जीवित रहन्छ, जबसम्म यो प्रचार रहन्छ। त्यसबाहेक केही होइन। तर, सत्तामा हुनेहरू सत्ता गुमाउने डरमा बाँच्छन्। त्यो बाँच्ने डरलाग्दो तरिका हो,’ उनले थपे।

जेएनयू फिल्मप्रति भने एबीभीपीकै उम्मेदवारको आपत्ति छ।

‘फिल्मले विश्वविद्यालयलाई नकारात्मक तरिकाले चित्रित गर्छ। त्यसमा सत्यता छैन,’ डाँगी भन्छन्, ‘म व्यक्तिगत रुपमा त्यस्ता फिल्मको विपक्षमा छु।’ अल जजिराबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .