पाँच पटक सिक्किमको मुख्यमन्त्री रहिसकेका पवनकुमार चाम्लिङ पाँच वर्ष सत्ताबाहिर रहे। २०१९ मा उनको पार्टी सिक्किम डेमोक्र्टिक फ्रन्टलाई हराउँदै सिक्किम क्रान्तिकारी मोर्चाका प्रेमसिंह तामाङ मुख्यमन्त्री बनेका थिए।
तर, यसपटक पुनः सत्तामा फर्किन चाम्लिङ जोडबल लगाइरहेका छन्। त्यसका लागि उनी यसपटक फुटबल खेलाडी बाइचुङ भुटियाको लोकप्रियतामा निर्भर छन्।
त्यस्तै, भारतीय संविधानको धारा ३७१ (एफ) मा रहेको सिक्किमको विशेष हैसियत खारेज हुन सक्ने त्रास पनि उनले देखाइरहेका छन्।
सिक्किमको विधान सभा र लोकसभा चुनाव अप्रिल १९ मा हुँदैछ। विधान सभामा ३२ सिट छन् भने लोकसभामा एउटा मात्र।
तामाङको मोर्चालाई टक्कर दिन चाम्लिङले भुटियालाई चुनावमा उठाएका छन्। जो सिक्किममा निकै लोकप्रिय छन्।
४५ वर्षीय भुटियाको विगतमा चाम्लिङसँग मतभेद थियो। तर, ती मतभेद बिर्सेर उनले आफ्नो हाम्रो सिक्किम पार्टीलाई चाम्लिङको एसडीएफमा मिसाए।
यसबाट कृतज्ञ भएका चाम्लिङले तत्काल भुटियालाई पार्टीको उपाध्यक्ष बनाए र विधान सभा चुनावको टिकट पनि दिए।
त्यसपछि भुटिया चुनाव प्रचारमा खटिएका छन्। उनी सिक्किमका जनतालाई मुख्यमन्त्रीमा चाम्लिङलाई एक पटक फेरि मौका दिन आग्रह गरिरहेका छन्।
‘चाम्लिङसँग सिक्किमलाई विकास र समृद्धिको पथमा लैजाने सीप र भिजन छ,’ भुटिया भन्छन्, ‘सिक्किम रणनीतिक रुपले महत्वपूर्ण स्थानमा अवस्थित छ। सिक्किम सदा शान्त रहन आवश्यक छ। त्यसका लागि सिक्किमलाई यस्तो नेता चाहिन्छ, जसले यहाँको नाजुक सामाजिक व्यवस्थालाई कायम राख्न र लेप्चा, भुटिया र नेपाली रहेका आदिवासी जनताको सामाजिक आर्थिक तथा सांस्कृतिक चरित्रलाई टिकाउन सक्छ।’
चाम्लिङ र भुटिया दुवैले मोर्चा र भाजपा सिक्किमको सरकारमा आए सिक्किमको विशेष हैसियत खारेज हुनसक्ने त्रास स्थानीयमा फैलाइरहेका छन्।
धारा ३७१एफ अनुसार सिक्किमे जनतालाई अनेकौँ अधिकार प्रदान गरिएको छ। यसमा जमिनमा उनीहरुको स्वामित्व र सरकारी जागिरको सुनिश्चितता गरिएको छ। त्यस्तै, उनीहरुलाई आयकर तिर्नबाट पनि छुट दिइएको छ।
चुनाव जित्ने आशामा सिक्किमका ३२ वटै सिट र लोकसभाको एक सिटमा एसडीएफले उम्मेदवारी दिएको छ।
छैटौँ कार्यकालका लागि सत्तामा फर्किन चाम्लिङ दुई क्षेत्रबाट चुनाव लड्दैछन्। नाम्ची जिल्लाको पोक्लोक कामराङ र पाकयोङ जिल्लाको नाम्चिबुङमा उनको उम्मेदवारी परकेो छ। भुटिया बारफुङबाट लड्दैछन्।
अधिकांश सिटमा यो पार्टीले युवा उम्मेदवार उठाएको छ। एक मात्र लोकसभा सिटको टिकट दुई पटक सांसद रहिसकेका पीडी राईलाई दिएको छ। जो चाम्लिङका निकट सहयोगी हुन्। एजेन्सी
Shares

प्रतिक्रिया