ग्लोबल


भारतलगत्तै चीनको भ्रमणमा बंगलादेशी प्रधानमन्त्री, २० वटा एमओयूमा हस्ताक्षर हुने

भारतलगत्तै चीनको भ्रमणमा बंगलादेशी प्रधानमन्त्री, २० वटा एमओयूमा हस्ताक्षर हुने

यो हसिनाको पाँचौँ चीन भ्रमण हो


नेपालखबर
असार २४, २०८१ सोमबार १३:२८,

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आजदेखि चीनको चार दिने औपचारिक भ्रमण सुरु गरेकी छन्। भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङसँग अलगअलग भेटवार्ता गर्ने भएकी छन्। 

यो भ्रमणमा चीन र बंगलादेशबीच २० वटा समझदारी पत्रमा हस्ताक्षर हुने बताइएको छ। त्यस्तै, उनीहरूले केही विकास परियोजना उद्घाटन पनि गर्नेछन्।

उनीहरूबीच आर्थिक तथा वित्तीय, व्यापार, लगानी, डिजिटल इकोनोमी, पूर्वाधार विकासलगातका सम्झौता हुने बताइएको छ।

तर, यसअघि चर्चामा रहेको २० अर्ब डलरको ऋण सम्झौता भने नहुने विदेशमन्त्री डा. हसन महमुदले बताएका छन्।

‘सूचीमा ऋण सहमतिको कुरा छैन,’ उनको भनाइ बंगलादेशी सञ्चारमाध्यमले उधृत गरेका छन्।

घट्दो विदेशी मुद्रा सञ्चितिको समस्या सल्ट्याउन बंगलादेशले चीनसँग ठूलो ऋण मागेको बताइएको थियो। 

‘हाम्रो सूचीमा त्यस्तो एमओयू छैन,’ विदेशमन्त्री हसनले भने, ‘तर, छलफलका क्रममा धेरै कुरा आउन सक्छ। हाम्रो विदेशी मुद्रा सञ्चिति राम्रो छ।’

हसिनाको यो पाँचौ चीन भ्रमण हो। त्यस्तै, लगातार चौथो कार्यकालका लागि निर्वाचित भएपछिको पहिलो चीन भ्रमण हो। जनवरी ७ मा उनी पुनः निर्वाचित भएपछि उनलाई चीनले निमन्त्रणा दिएको थियो।

गत महिना मात्र उनले भारतको दुई पटक भ्रमण गरेकी थिइन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी भएकी हसिना लगत्तै राजकीय भ्रमणका लागि दिल्ली फर्केकी थिइन्।

सन् २०१६ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले बंगलादेश भ्रमण गरेपछि दुई मुलुकबीचको निकटता बढेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad