ब्राजिलको राजधानी साओ पाउलोमा शुक्रबार भएको विमान दुर्घटनामा ६१ जनाको मृत्यु भएको छ। विमानमा सवार सबै ५७ यात्रु र चालक दलका ४ सदस्यको मृत्यु भएको हो।
विमान सञ्चालन गर्ने भोपास एयरलाइन्सका अनुसार यो ट्विन इन्जिन भएको टर्बोप्रप विमान ब्राजिलको दक्षिणी सहर परानाको कास्काभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस जाँदै गर्दा भिन्हेडो सहरनजिकै दुर्घटना भएको हो।
सामाजिक सञ्जालमा भाइरल भइरहेको फुटेजमा एटीआर ७२–५०० विमान आकाशमा घुमिरहेको र सिधै तल खसेको देखिन्छ।
स्थानीय अधिकारीहरूले विमानमा सवार सबैको मृत्यु भएको पुष्टि गरेका छन्।
कास्कभेलको उपेक्कन क्यान्सर अस्पतालले मृतकमध्ये दुई जना प्रशिक्षार्थी डाक्टर पनि रहेको बताएको छ।
ब्राजिलका राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भाले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
साओ पाउलो राज्यका गभर्नर टार्सिसो गोम्स डे फ्रेटासले तीन दिनको शोकको घोषणा गरेका छन्।
विमानको उडान रेकर्ड फेला परेको अधिकारीहरूले बताएका छन्।
बीबीसीका अनुसार सन् २००७ पछि ब्राजिलमा भएको यो सबैभन्दा ठूलो विमान दुर्घटना हो।
२००७ मा साओ पाउलोमा टीएएम एक्सप्रेस विमान दुर्घटनामा १९९ जनाको मृत्यु भएको थियो।
फ्रान्सेली–इटालियन एयरलाइन्स कम्पनी एटीआरले विमान दुर्घटनाको अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएको छ।
विमान खसेको एउटा घरमा मात्रै क्षति पुगेको अधिकारीहरूले बताएका छन्। तर जमिनमा कोही पनि घाइते भएनन्।
सार्वजनिक भिडिओमा ठूलो क्षेत्रमा आगो फैलिएको र विमानको भग्नावशेषबाट धुवाँ निस्किरहेको देखिन्छ।
विमान खसेको वरपर धेरै घर देखिन्छन्।
फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइटरडार २४ का अनुसार विमान स्थानीय समय शुक्रबार बिहान ११:५६ बजे कास्कभेलबाट उडेको थियो र डेढ घण्टापछि अन्तिम संकेत प्राप्त भएको थियो।
ब्राजिलको नागरिक उड्डयन एजेन्सीले उक्त विमान सन् २०१० मा निर्माण भएको र राम्रो अवस्थामा रहेको दाबी गरेको छ।
उसका अनुसार विमान उड्नका लागि एकदम फिट थियो। विमान चालक दलका सबै सदस्यसँग लाइसेन्स थिए।
यसो भन्छन् प्रत्यक्षदर्शी
विमान दुर्घटना भएको देखेका फेलिपे म्यागालेसले समाचार एजेन्सी रोयटर्सलाई भने, ‘विमान खसेको सुनेपछि मैले झ्यालबाट बाहिर हेरेँ। मैले आँखैअगाडि विमान खसेको देखेँ।’
भिन्हेडो सहरमा बस्ने उनले विमान खसेलगत्तै डर लागेर घरको पर्खालबाट हाम फालेर बाहिर भागेको बताए।
दुर्घटनास्थलनजिकै बस्ने नताली सिसारीले खाना खाइरहेका बेला टाढाबाट ठूलो आवाज सुनेको बताइन्।
सीएनएन ब्राजिलसँग उनले भनिन्, ‘म बार्दलीमा दगुरेँ र विमान धेरै छिटो घुमिरहेको र तल खसेको देखेँ। एक क्षणमै मैले बुझेँ कि यो विमानको सामान्य चाल होइन।’
अर्का प्रत्यक्षदर्शी पात्रोले रोयटर्सलाई बताएअनुसार त्यहाँ धेरै मानिसहरू भेला भए र भिडिओ बनाउन थाले।
‘मैले विमानको भग्नावशेष देखेँ’, उनले भने, ‘दुर्घटनास्थलमा यसको क्याबिन मात्रै थियो।’
भाग्यले बाँचे २ यात्रु
परानाको कास्कभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस एयरपोर्ट जाँदै गरेको उक्त विमानको टिकट लिएका केही यात्रु भने विमान छुटेकाले बाँचेका छन्।
तीमध्ये एक हुन्– एड्रियानो एसिस।
उनले भने, ‘विमानको उडान र कहिले उड्ने भन्नेबारे केही जानकारी थिएन। यो कुरा बताउन काउन्टरमा कोही थिएन। जब त्यहाँ कोही पुगे, तिनले मलाई अब विमानमा चढ्न नसकिने बताए।’
यस क्रममा ती व्यक्तिसँग उनको झगडा पनि पर्यो।
उनी भन्छन्, ‘तर म बाँचेकोमा भगवान्लाई धन्यवाद दिन्छु।’
अर्का यात्रु जोस फेलिपले पनि सुरुमा लाताम जान टिकट बुकिङ गरेका थिए। तर लातामको विमानस्थल बन्द थियो।
एयरपोर्ट पुग्दा उनको बोर्डिङ लिमिट सकिएको बताइयो। त्यहाँ बसेका अधिकारीसँग उनको झगडा पनि पर्यो।
अन्तत: उनलाई विमान चढ्न दिइएन।
उनले भने, ‘यो एउटा डरलाग्दो अनुभव हो। म अझै काँपिरहेको छु। यो क्षणको साक्षी म र भगवान् मात्र हौँ।’
Shares
प्रतिक्रिया