ग्लोबल


सिनवर मारिएपछि हमासको नेता को? यी हुन् प्रमुख दाबेदार

सिनवर मारिएपछि हमासको नेता को? यी हुन् प्रमुख दाबेदार

नेपालखबर
कात्तिक ४, २०८१ आइतबार १५:१७,

इजरायली सेनाले हमासका नेता याह्या सिनवरको हत्या गरेपछि सो समूहको नेतृत्व कसको हातमा जाला भन्ने प्रश्न उठेको छ। 

बीबीसीले हमासका अधिकारीहरूलाई उधृत गर्दै जनाएअनुसार यसका दुई प्रमुख दाबेदार छन्।

सिनवरका सहयोगी तथा गाजाबाहिर रहेका हमासका सबैभन्दा वरिष्ठ नेता खलिल अल हय्या बलिया दाबेदार हुन्।

अल हय्या कतारमा बस्छन्। उनी हाल युद्धविरामका लागि हुने वार्ताटोली प्रमुख हुन्। 

हमासका नेताहरूले चाँडै नै सिनवरको उत्तराधिकारी छान्ने बताइएको छ। सिनवरले दुई महिनाअघि मात्र इरानमा तत्कालीन हमास प्रमुख इस्माइल हनिया मारिएपछि सो समूहको नेतृत्व हातमा लिएका थिए।

नेतृत्वका अर्का दाबेदार हुन् मोहम्मद सिनवर। याह्या सिनवरकै भाइ। जसले गाजामै रहेर सशस्त्र समूहको नेतृत्व गरिरहेको बताइन्छ। 

सिनवर मारिए पनि युद्धविराम र बन्धक छाड्नका लागि हमासको सर्त नबदलिएको सो समूहले जनाएको छ। त्यसका लागि इजरायली सेनाले गाजा छाड्नुपर्ने, मानवीय सहयोग आउन दिनुपर्ने र इजरायली आक्रमणमा ध्वस्त भएको गाजाको पुनर्निर्माण गर्नुपर्ने सर्त राखेको छ।

इजरायलले ती सर्तलाई खारेज गर्दै हमासले निसर्त आत्मसमर्पण गर्नुपर्ने बताएको छ। 

‘हामी हाम्रो जनताको स्वतन्त्रताका लागि लडिरहेका छौँ र हामी आत्मसमर्पण स्वीकार्दैनौँ। हामी अन्तिम गोली र अन्तिम सिपाही रहेसम्म लडिरहन्छौँ, जसरी सिनवर लडेका थिए,’ हमासका एक अधिकारीले भने। 

सिनवरको हत्या हमासले दशकौँयता बेहोरेको सबैभन्दा ठूलो धक्कामध्ये एक हो। यद्यपि, १९९० को दशकयता उसका अधिकांश प्रमुख इजरायलको हातबाट मारिँदै आएका छन्।

इजरायलले एकपछि अर्का हमास नेताको हत्यामा सफलता पाए पनि सो आन्दोलनलाई नामेट पार्न भने सकेको छैन। 

सिनवरको मृत्युसँगै हमासले बन्धक बनाएका मानिसहरूको भविष्य झनै अनिश्चित बनेको छ। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad