ग्लोबल


बंगलादेशकी पूर्वप्रधानमन्त्रीको दरबार क्रान्ति संग्रहालय बनाउने घोषणा

बंगलादेशकी पूर्वप्रधानमन्त्रीको दरबार क्रान्ति संग्रहालय बनाउने घोषणा

फाइल तस्बिर: बंगलादेशका अन्तरिम सरकार प्रमुखमुहम्मद युनुस र पूर्वप्रधानमन्त्री शेख हसिना


रासस/एएफपी
कात्तिक १२, २०८१ सोमबार २१:२८, ढाका

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको एक समयको भव्य दरबारलाई उनलाई सत्ताच्युत गर्ने क्रान्तिको सम्मानमा संग्रहालयमा परिणत गरिने अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले सोमबार बताएका छन्। 

“यो संग्रहालयले उहाँको कुशासन र जनताले उहाँलाई सत्ताबाट हटाउँदाको क्रोधको स्मृतिलाई संरक्षण गर्नुपर्छ”, नोबेल शान्ति पुरस्कार विजेता युनुसले प्रधानमन्त्रीको पूर्वसरकारी निवास गणभवन दरबारको भ्रमण गर्दै भने। 

चौरासी वर्षीय लघुवित्त अग्रणी युनुसलाई अगस्ट ५ मा हसिनालाई हेलिकोप्टरमार्फत भारत भाग्न बाध्य पार्ने विद्यार्थी नेतृत्वको विद्रोहपछि देशको ‘मुख्य सल्लाहकार’ मा नियुक्त गरिएको थियो। 

हसिनाको १५ वर्षे शासनकालमा उनका राजनीतिक विरोधीहरूको व्यापक थुनछेक र न्यायबाहिरको हत्या लगायत व्यापक मानव अधिकार उल्लंघन भएको थियो र बंगलादेशी अदालतले यस महिना नहाँको पक्राउका लागि वारेन्ट जारी गरेको छ।

हसिनाको पतनअघि धेरैजसो कठोर प्रहरी दमनमा सात सयभन्दा बढी मानिस मारिएका थिए। उनी भाग्दा हजारौँले उनको पूर्वनिवासमा धावा बोलेका थिए। यसलाई सरकारले ‘दमनको प्रतीक’ भनेको थियो।

हसिना भागेपछिको अराजकतामा लुटिएको र क्षतिग्रस्त भएको दरबारको भित्तामा उनको पतीत शासनको निन्दा गर्ने भित्तेलेखन छन्। 

संग्रहालयमा हसिनाको शासनले सञ्चालन गरेको कुख्यात् ‘ऐनाघर’ थुनाकेन्द्रको प्रतिकृति समावेश गरिनेछ। हसिना शासनकालमा यहाँका थुनुवाहरूले आफूबाहेक अरू कसैलाई देख्न नपाउने व्यवस्था भएकाले यसलाई ऐनाघर नाम दिइएको थियो। 

“ऐनाघरले दर्शकहरूलाई गुप्त कैदीहरूले भोगेको यातनाको याद दिलाउनुपर्छ”, युनुसले भने। 

हसिनाको पतनले कम्तीमा दुई दिनको अराजकता निम्त्यायो। यसमा उनका बुबा एवं बंगलादेशका पहिलो राष्ट्रपति शेख मुजिबुर रहमानको घरमा रहेको संग्रहालयको लुटपाट पनि समावेश थियो।

युनुसको कार्यालयका प्रेस अधिकारी अपूर्व जहाँगीरले डिसेम्बरसम्ममा संग्रहालय निर्माण सुरु हुने बताए। “संग्रहालयको निर्माण अहिलेसम्म सुरु भएको छैन तर चाँडै सुरु हुनेछ”, उनले भने। 

बंगलादेश छाडेपछि हसिना सार्वजनिक रूपमा देखिएकी छैनन्। सतहत्तर वर्षीया हसिनाको अन्तिम आधिकारिक अवस्थिति भारतको राजधानी नयाँदिल्ली नजिकैको एक सैन्य वायुसेना अड्डा थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad