आफ्नो शपथ समारोहमा डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई आमन्त्रित गरेका छन्। तर, उनको निमन्त्रणा सीले स्वीकार्ने सम्भावना नदेखिएको विश्लेषकहरूको भनाइ छ।
दुई मुलुकबीचको सम्बन्ध झनझन् प्रतिस्पर्धात्मक बन्दै जाँदा ट्रम्पको निम्ता स्वीकार गर्नु सीका लागि जोखिमपूर्ण हुने उनीहरूको तर्क छ।
ट्रम्पको आगामी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले ट्रम्पले सीलाई निमन्त्रणा पठाएको पुष्टि गरिन्।
‘के तपाईं जनवरीमा वासिङ्टनमा बाहिरपट्टि पोडियमको छेउमा चीनका उग्र विरोधी सांसदहरूको माझमा बसेर सी चिनफिङले डोनाल्ड ट्रम्पको पहिलो भाषण सुनिरहेको दृश्य कल्पना गर्न सक्नुहुन्छ?’ अमेरिकाको सहायक विदेशमन्त्री रहिसकेका ड्यानी रसेल भन्छन्।
हाल एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटस्थित इन्टरनेसनल सेक्युरिटी एन्ड डिप्लोमेसीका उपाध्यक्ष रहेका रसेल सीले आफूलाई विदेशी नेताको विजयको खुसी मनाइरहेको पाहुनाको हैसियतमा झर्ने अनुमति नदिने बताउँछन्।
अमेरिकी राष्ट्रपतिको शपथमा चिनियाँ नेता सहभागी भएको कुनै उदाहरण नभएकाले चीनले जोखिम नलिने स्टिमसन सेन्टरको चाइना प्रोग्राम निर्देशक युन सुन बताउँछिन्।
‘चिनियाँहरूले जोखिम मोल्लान् भन्ने मलाई लाग्दैन,’ युन भन्छिन्।
२०२१ मा जस्तै ताइवानी कूटनीतिज्ञ शपथमा सहभागी हुने जोखिम पनि रहेको उनको भनाइ छ।
त्यस्तै, सत्ता सम्हालेपछि ट्रम्पले वाचा गरे अनुरुप चिनियाँ सामानमा ६० प्रतिशत कर लगाए सीको बेइज्जती हुने उनी बताउँछिन्। एजेन्सी
Shares

प्रतिक्रिया