ग्लोबल


क्यानडादेखि पानामासम्म मिच्ने ट्रम्पको चाहना : ठट्टा कि साँच्चै?

क्यानडादेखि पानामासम्म मिच्ने ट्रम्पको चाहना : ठट्टा कि साँच्चै?

नेपालखबर
पुस १०, २०८१ बुधबार ९:४९,

राष्ट्रपतिको कार्यभार सम्हाल्न लागेका डोनाल्ड ट्रम्प केही दिनयता अमेरिकाको भौगोलिक विस्तारको ख्यालमा रमाइरहेका देखिन्छन्। 

गतसाता उनले अमेरिकाले आफ्नो उत्तरी छिमेकी मुलुकलाई ५१ औँ राज्यका रूपमा अमेरिकामा मिसाउन सक्ने भन्दै क्यानडेली अधिकारीहरूलाई जिस्क्याएका थिए। त्यसपछि उनले पानामा नहरको नियन्त्रण फिर्ता लिने धम्की दिए। 

र, आइतबार डेनमार्कको अधीनमा रहेको भूमि ग्रिनल्यान्ड अमेरिकामा मिसाउने चाहना पुनः व्यक्त गरे। जसमा अघिल्लो कार्यकालदेखि नै उनले आँखा गाडेका छन्।

यदि यी कुरामा ट्रम्प गम्भीर भए त्यो अमेरिकाले फ्रान्सबाट लुजियाना र अलास्काबाट रुस लिएजस्तै घटना हुनेछन्। 

तर, ट्रम्पका हकमा उनको कुरा गम्भीर नीतिगत प्रस्ताव हो कि सञ्चारमाध्यमको ध्यान आकृष्ट गर्न वा आफ्ना समर्थकलाई उत्साहित पार्न गरिने फन्डा, स्पष्ट हुँदैन। 

पानामाको सन्दर्भमा उनले पानीजहाजको शुल्क उच्च लिएको भन्दै त्यो क्रम जारी राखे नहरको स्वामित्व फिर्ता लिने धम्की दिएका हुन्। ‘त्यसैले पानामाका अधिकारीहरू, कृपया यसैअनुसार निर्देशित हुनुहोस्,’ आइतबार उनले भने।

तर, ट्रम्पका अभिव्यक्ति विदेशमा अमेरिकाको पदचाप विस्तारमा केन्द्रित देखिन्छन्। जबकि चुनावी अभियानमा उनले अमेरिकाले विदेशी हस्तक्षेप बन्द गर्नुपर्ने बताएका थिए। तर, अहिले उनको अभिव्यक्तिमा १९ औँ शताब्दीको सिद्धान्त ‘मेनिफेस्ट डेस्टिनी’ अर्थात्, महादेशभरि विस्तार हुने अधिकार अमेरिकालाई छ भन्ने विश्वास झल्किन्छ।

आइतबार साँझ ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षा र विश्वको स्वतन्त्रताका लागि ग्रिनल्यान्डको स्वामित्व अनिवार्य आवश्यकता भएको बताए। पानामा नहर कब्जा गर्ने उनको विचारले पनि उनको राष्ट्रवादी एजेन्डालाई दर्शाउँछ। 

एरिजोनामा बोल्दै ट्रम्पले लागुऔषध गिरोहलाई विदेशी आतंकवादी संगठन घोषणा गर्ने योजना पनि दोहोर्‍याए। यो मेक्सिकोको भूमिमा सेना प्रयोग गर्ने सोचबाट प्रेरित पनि हुन सक्छ। उनले फेन्टानिल ल्याबमा बम खसाउने र गिरोहका नाइके समात्न सेना पठाउने धम्की पनि दिएका छन्। यसले मेक्सिकोको सार्वभौमसत्ता हनन त गर्ने छ नै, अमेरिकाको सबैभन्दा ठूलो व्यापार साझेदारसँगको सम्बन्ध पनि बिगार्ने छ।

ट्रम्पका यी अभिव्यक्तिको कारण र उदेश्य स्पष्ट पार्न आग्रह गर्दा ट्रम्पको टोलीले टिप्पणी गर्न मानेन।

यसअघि चुनावी प्रचारका क्रममा उनले कुरै नगरेको पानामा नहरमा ट्रम्पको चासो एक्कासि किन बढ्यो, उनी निकटस्थहरूले भन्न सकेनन्। एक सल्लाहकारले भने ट्रम्पले आफ्ना पुराना मित्रदेखि नवपरिचितसम्मले सुनाएका मुद्दा उठाउने गरेको बताए। चुनाव जितेयता ट्रम्पले निकट सहयोगी, ठूला व्यवसायी, दाता र अन्य मुलुकका राज्यप्रमुखसँग समय बिताएका छन्।

पानामाका राष्ट्रपति होसे राउल मुलिनोले नहरको स्वामित्वका विषयमा सम्झौता गर्न नसकिने प्रतिक्रिया दिएपछि ट्रम्पले उनलाई अझ जिस्क्याएका छन्। 

‘संयुक्त राज्य अमेरिकाको नहरमा स्वागत छ,’ उनले नहरमा अमेरिकी झण्डा भएको तस्बिरसहित आफ्नो सामाजिक सञ्जाल ट्रुथमा लेखेका छन्।

ट्रम्पले डेनमार्कबाट ग्रिनल्यान्ड किन्ने उनको भनाइले पनि आलोचना खेपेको छ। सो क्षेत्रका प्रधानमन्त्री मुत्ते एगेडले लेखेका छन्, ‘ग्रिनल्यान्ड हाम्रो हो। हामी बिक्रीमा छैनौँ, कहिल्यै बिक्रीमा हुने छैनौँ।’

क्यानडालाई अमेरिकामा मिसाउने ट्रम्पको प्रस्ताव भने ज्यादा मजाकजस्तो लाग्छ। मात्र क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोलाई जिस्क्याउने उदेश्यले उनले त्यसो गरेका हुनसक्छन्। जोसँग ट्रम्पले हालै मार ए लागोमा भोज गरेका थिए। 

ट्रम्पले यसअघि क्यानडा र मेक्सिकोबाट गरिने आयातमा २५ प्रतिशत कर लगाउने बताएका थिए। उनको यस्तो धम्कीले नतिजा भने दिएको छ। दुवै मुलुकका नेताहरूले उनीसँग भेटको प्रस्ताव अघि बढाए। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad