हवाई विशेषज्ञहरूले धावनमार्ग (रनवे) नजिकै निर्माण गरिएको 'असामान्य' कंक्रिट पर्खाल र दक्षिण कोरियाको विमान दुर्घटनामा यसको भूमिकाबारे प्रश्न उठाएका छन्। आइतबार भएको उक्त दुर्घटनामा १७९ जनाको मृत्यु भएको थियो।
विमान दुर्घटनाको फुटेजमा जेजु एयरको विमानले मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि पर्खालमा ठोकिएर आगलागी भएको देखिन्छ।
विमान दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका अधिकारीहरूले रनवेको अन्त्यबाट करिब २५० मिटर टाढा कंक्रिटको पर्खाल भएको स्थानबारे अध्ययन हेरिरहेका छन्।
वायु सुरक्षा विशेषज्ञ डेभिड लियरमाउन्टले पर्खाल त्यहाँ नभएको भए विमान ‘रोकिने' र धेरैजसो वा सम्भवतः जहाजमा रहेका सबै बाँच्ने सम्भावना देखिएको बताएका छन्।
पाइलटले विमान चरासँग ठोकिएको र त्यसपछि विपरीत दिशाबाट अवतरण गर्न अनुमति मागिएको बताएका छन्।
विमान २८०० मिटरको रनवेमा केही समयपछि ओर्लियो र यो पांग्रा वा अन्य कुनै पनि ल्यान्डिङ गियर प्रयोग नगरी अवतरण भएको देखिन्छ।
उड्डयन विशेषज्ञ लियरमाउन्ट भन्छन्, ‘यति धेरै मानिसको मृत्युको कारण अवतरण थिएन। उनीहरूको मृत्युको कारण धावनमार्गको छेउमा रहेको कंक्रिटको पर्खाल थियो।’
जर्मनीको म्युनिखमा रहेको लुफ्थान्सा एयरलाइन्सका पाइलट क्रिस्टियन बेकर्टले कंक्रिटको पर्खाललाई ‘असामान्य’ भने।
समाचार एजेन्सी रोयटर्ससँग उनले भनेका छन्, ‘सामान्यतया एयरपोर्टको अन्त्यमा रनवेपछि पर्खाल हुँदैन।’
दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार उक्त कंक्रिटको पर्खालमा नेभिगेसन प्रणाली जडान गरिएको थियो जसले विमानलाई अवतरण गर्न मद्दत गर्छ।
दक्षिण कोरियाको यातायात मन्त्रालयले के भन्यो?

दक्षिण कोरियाको यातायात मन्त्रालयले देशका अन्य विमानस्थल र केही विदेशी विमानस्थलमा पक्की संरचनासहित उपकरण जडान गरिएको जनाएको छ।
यद्यपि अधिकारीहरूले त्यस्ता पक्की पर्खाल सजिलै भत्किने किसिमका अलि कमजोर बनाउन सकिन्थ्यो कि भनेर अनुसन्धान गर्नेछन्।
४८ वर्षको अनुभव भएका पाइलट क्रिस किंग्सवुडले ठ्याक्कै त्यही विमान उडाएका थिए, जुन दुर्घटनामा परेको थियो।
उनले बीबीसीसँग भनेका छन्, ‘रनवेको निश्चित दायरा तथा दूरीभित्रका अवरोध 'कमजोर' हुनु आवश्यक छ, ताकि विमानले ठक्कर दिँदा ती भत्कियून्।’
थप व्याख्या गर्दै किंग्सवुड अगाडि भन्छन्, ‘मैले बुझेसम्म विमान रनवेमा निकै तीव्र गतिमा गुडिरहेको थियो र रनवेको सुरुवातभन्दा निकै अगाडि अतवरण भयो। यही कारण विमान रनवेको अन्त्यभन्दा धेरै अघि गयो र पर्खालमा ठोकियो। निश्चित रूपमा यसको अनुसन्धान हुनुपर्छ।’
उनका अनुसार विमानको पंखामा इन्धन राखिएको हुन्छ। पंखा फुट्दा आगो लाग्ने सम्भावना धेरै हुन्छ। त्यसैले पर्खाल नभएको भए नतिजा फरक हुन्थ्यो भन्ने निश्चित छैन।
उनी भन्छन्, ‘मलाई डर छ कि यदि विश्वका धेरै प्रमुख अन्तर्राष्ट्रय विमानस्थलको निरीक्षण गर्ने हो भने त्यहाँ त्यस्ता अवरोध धेरै भेटिएलान्, जसले खतरा पैदा गर्छन्।’
के भन्छन् उड्डयन विश्लेषक?
उड्डयन विश्लेषक सेली गेथिनले पाइलटलाई रनवेको छेउमा कंक्रिटको पर्खाल छ भन्ने थाहा थियो कि थिएन भन्ने प्रश्न गरे।
‘हामीले यो जान्न आवश्यक छ कि पाइलटहरूलाई रनवेको अन्त्यमा क्रंक्रिट पर्खाल छ भनेर थाहा थियो’, उनले बीबीसीसँग भनेका छन्, ‘हामीले जान्न आवश्यक छ कि पाइलटहरूलाई कन्ट्रोल टावरले दोस्रोपटक रनवे प्रयोग नगर्न निर्देशन पो दिइएको थियो कि? ब्ल्याक बक्स अनुसन्धानमा यो कुरा बाहिर आउनुपर्छ।
उनले अगाडि भन्छन्, ‘मलाई लाग्छ त्यहाँ धेरै प्रश्न छन्।’
Shares

प्रतिक्रिया