राजनीति


संघीयता कसैको कृपाबाट आएको होइन, छेडखानी गरिए प्रतिवाद गर्छौं: उपेन्द्र यादव

संघीयता कसैको कृपाबाट आएको होइन, छेडखानी गरिए प्रतिवाद गर्छौं: उपेन्द्र यादव

सुभाष कर्ण
असार १३, २०८३ शनिबार १८:५८, जनकपुरधाम

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयता पुनरावलोकन र प्रदेश खारेजसम्बन्धी निर्णय कुनै पनि हालत स्वीकार्य नहुने र त्यसको प्रतिवादन गर्ने बताएका छन्।

शनिबार जसपा नेपालले जनकपुरधाममा आयोजना गरेको मधेश प्रदेशबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका नेताहरूसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष यादवले संघीय लोकतान्त्रिक गणतन्त्र, प्रदेश व्यवस्था र समावेशितामाथि हुने कुनै पनि प्रकारको प्रहार स्वीकार्य नहुने बताएका हुन्। 

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनबाट पारित गरेको संघीयता पुनर्संरचना र प्रदेश सभा खारेजको प्रस्ताव कार्यान्वयनमा लगेमा मधेशी जनता र जसपा नेपालले त्यसको प्रतिवाद गर्ने उनले बताए। 

‘देशमा संघीयता कसैको दया कृपाबाट आएको होइन। यो सयौं मधेशी जनताको बलिदानीबाट प्राप्त उपलब्धि हो,’ यादवले भने, ‘यसलाई कसैले छेडखानी गर्न खोजे जसपा नेपाल मात्रै होइन, सम्पूर्ण मधेशी जनता त्यसको प्रतिवाद गर्न सडकमा ओर्लिनेछन्।’ 

उनले संघीयताका लागि फेरि एक पटक आन्दोलन गर्न तयार अवस्थामा रहन यादवले मधेशी जनतालाई आह्वान गरे। मधेश र मधेशीका हकहितका लागि गठित पार्टीको मूल उद्देश्य सामाजिक न्याय, पहिचान र अधिकारको आन्दोलन भएकाले लक्ष्य प्राप्त नभएसम्म संघर्ष जारी रहने उनको भनाइ थियो। 

अध्यक्ष यादवले एउटा निर्वाचनको परिणामलाई अन्तिम सत्यका रूपमा नलिन नेता-कार्यकर्तालाई आग्रह गरे। उनले संगठनलाई गाउँदेखि प्रदेशसम्म थप सुदृढ बनाउँदै आगामी निर्वाचन र राजनीतिक अभियानका लागि अहिलेदेखि नै तयारीमा जुट्न निर्देशन दिए।

उनले डिजिटल युगमा सामाजिक सञ्जाल पार्टीको प्रभावकारी माध्यम बनेको उल्लेख गर्दै नेता-कार्यकर्तालाई सामाजिक सञ्जालमार्फत पार्टीका नीति, विचार र गतिविधि जनतामाझ पुर्‍याउनका लागि सक्रिय हुन आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad