नेपाली कांग्रेसका सभापति गगन थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरी रहेको बताएका छन्।
शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले विद्यमान राजनीतिकरण र दलीयकरण शिक्षा क्षेत्रको सुधार नहुनुको प्रमुख कारण भएको बताए। विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक नियुक्तिसम्म दलगत आधारमा हुने प्रवृत्तिले मुलुकको शिक्षा प्रणाली धराशायी भएको थापाको भनाइ छ।
‘शिक्षामा राजनीति भयो भनिन्छ। शिक्षामा राजनीति भएन भन्छु म। शिक्षामा दलीयकरण भयो,’ थापाले भने, ‘हामीलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि आफ्नै मान्छे चाहियो, प्रधानाध्यापक पनि आफ्नै मान्छे चाहियो। त्यो राजनीति होइन, त्यो दलीयकरण हो।’
यद्यपि शिक्षा आफैँमा राजनीतिक मुद्दा भएकाले समुन्नत नेपाल निर्माणका लागि शिक्षा क्षेत्रले खेल्नसक्ने भुमिकाबारे गम्भीर बहस आवश्यक रहेको उनले औँल्याए।
‘शिक्षामा दलीयकरणले सबैभन्दा ठूलो समस्या लिएर आयो। दलीयकरणबाट शिक्षालाई बाहिर निकाल्नुपर्यो। तर शिक्षा राजनीतिक ईस्यू हो,’ थापाले भने, ‘हामीले समुन्नत नेपालको सपना देखेका छौँ, शिक्षा क्षेत्रले मुलुकलाई समुन्नत बनाउनको लागि कहाँनिर योगदान दिनसक्छ? त्यो लक्ष्य र उद्देश्यको छलफल यहाँ गर्नुपर्छ।’
उनले मुलुकको समृद्धि र विकासका शिक्षा क्षेत्रले खेल्नसक्ने भूमिका र योगदानबारे राजनीतिक वृत्तमा पर्याप्त बहस हुनु आवश्यक रहेको बताए। उनले सरकारले हतारमा परीक्षाफल प्रकाशित गर्ने र छिटो परिक्षाफल प्रकाशित हुनु ठूलो उपलब्धि ठान्ने सोचले हजारौँ विद्यार्थी समस्यामा परेको पनि उल्लेख गरे।
Shares

प्रतिक्रिया