दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक-योल बुधबार पक्राउ परेपछि विपक्षी दलका नेताले देशमा न्याय जीवितै रहेको प्रतिक्रिया दिएका छन्।
गएको डिसेम्बर ३ मा राष्ट्रपति युनले देशमा मार्सल ल अर्थात् सैन्य शासन घोषणा गरेका थिए। तर संसद् र सडक दुवैबाट व्यापक विरोध भएपछि उनी ६ घण्टापछि नै आफ्नो निर्णय फिर्ता लिन बाध्य भएका थिए।
त्यसपछि विपक्षी दलले दोस्रोपटकको प्रयासमा डिसेम्बर १४ का दिन युनविरुद्ध दक्षिण कोरियाको संसद्बाट महाभियोग प्रस्ताव पारित गराई उनलाई राष्ट्रपति पदबाट निलम्बन गरेका थिए।
त्यसयता उनीविरुद्ध अनुसन्धान पनि गर्ने क्रममा बुधबार प्रहरीले गिरफ्तार गरेको हो।
यस विषयमा प्रतिक्रिया दिँदै सदनमा विपक्षी दल डेमोक्र्याटिक पार्टीका नेता पार्क चान-डेले भने, ‘दक्षिण कोरियामा न्याय जीवित छ।’
‘यो गिरफ्तारी संवैधानिक व्यवस्था, लोकतन्त्र र कानुनको शासन पुनर्स्थापित गर्ने दिशामा पहिलो कदम हो’, उनले पार्टी बैठकमा भने।
निलम्बित राष्ट्रपति युनले भने पक्राउ परेपछि भिडिओ सन्देश जारी गर्दै आफूविरुद्धको अनुसन्धान गैरकानुनी भएको जिकिर गरेका छन्।
Shares

प्रतिक्रिया