ग्लोबल


छत्तीसगढमा १४ माओवादी मारिएको सुरक्षा बलको दाबी

छत्तीसगढमा १४ माओवादी मारिएको सुरक्षा बलको दाबी

फाइल तस्बिर


नेपालखबर
माघ ८, २०८१ मंगलबार ११:२१, काठमाडौँ

भारतीय राज्य छत्तीसगढको गरियाबन्द जिल्लामा संदिग्ध माओवादीहरूसँगको मुठभेडमा सुरक्षा बलले १४ माओवादी मारेको दाबी गरेको छ।

बीबीसी हिन्दीका अनुसार ओडिसाको नुआपाडा जिल्लासँग जोडिएको गरियाबन्दको कुल्हाडीघाटको भालुडिगी र तरझर जंगलमा यो मुठभेड भएको हो। 

एक प्रहरी अधिकारीका अनुसार ओडिसा प्रहरीको विशेष अपरेसन समूह, सीआरपीएफको 'कोब्रा बटालियन' र छत्तीसगढ प्रहरीका कर्मचारी आइतबार नै कारबाहीका लागि त्यसतर्फ गएका थिए, जहाँ राति अबेरसम्म संदिग्ध माओवादीहरूसँग मुठभेड भयो।

सोमबार दिउँसो दुई संदिग्ध माओवादीको शव फेला परेको थियो भने मंगलबार बिहान थप १२ माओवादीको शव फेला परेको बताइएको छ।

एक वरिष्ठ प्रहरी अधिकारीले भनेका छन्, ‘हामीले ठूलो मात्रामा अत्याधुनिक हतियार बरामद गरेका छौँ। खोजी अभियान अझै जारी छ। मारिएका माओवादीहरूको संख्या बढ्न सक्छ।’

मारिएका केही माओवादी ओडिसामा सक्रिय माओवादी संगठनका वरिष्ठ सदस्यका रूपमा पहिचान गरिएको छ। यद्यपि, प्रहरीले यसको पुष्टि गरेको छैन।

यस भिडन्तमा कोब्रा बटालियनका एक सिपाहीलाई पनि गोली लागेको छ। यद्यपि उनको अवस्था खतरामुक्त छ। छत्तीसगढमा एक वर्षदेखि माओवादीविरुद्ध ठूलो अभियान जारी छ। 

सन् २०२४ मा भारतीय सुरक्षा बलले राज्यमा २१९ माओवादी मारिएको दाबी गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad