ग्लोबल


सुडानमा सैनिक विमान दुर्घटना, कम्तीमा ४६ जनाको मृत्यु

सुडानमा सैनिक विमान दुर्घटना, कम्तीमा ४६ जनाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
फागुन १४, २०८१ बुधबार २०:२४, पोर्ट सुडान

सुडानको खार्तुमको बाहिरी इलाकामा रहेको एक आवासीय क्षेत्रमा एउटा सैन्य यातायातको विमान मङ्गलबार दुर्घटना हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको खार्तुमको राज्य सञ्चालित समाचार संस्थाले बुधबार जनाएको छ। दुर्घटनामा कम्तीमा १० जना घाइते भएको जनाइएको छ।

सेनासमबद्ध स्वास्थ्य मन्त्रालयले विमानमा सवार १९ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

राजधानीको उत्तरपश्चिममा रहेको ओमदुरमानमा रहेको सेनाको सबैभन्दा ठूलो सैन्य केन्द्र वादी सेडना एयर बेसनजिकै मङ्गलबार राति एन्टोनोभ विमान दुर्घटनाग्रस्त भएको हो। 

सन् २०२३ को अप्रिलदेखि अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) सँग युद्धरत रहेको सेनाले सङ्ख्या उल्लेख नगरीकन ‘उडान भर्ने क्रममा विमान दुर्घटना हुँदा सैनिक र सर्वसाधारण दुवैको मृत्यु भएको’ जनाएको छ।

प्रत्यक्षदर्शीहरूले ठूलो विस्फोटको आवाज सुनेको र त्यस क्षेत्रमा थुप्रै घरहरू क्षतिग्रस्त भएको देखेको बताएका छन्। दुर्घटनाका कारण आसपासका क्षेत्रमा पनि विद्युत् आपूर्ति बन्द भएको छ।

सेनासमर्थित स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भग्नावशेषमुनि रहेका बाँकी मृत शरीर खोजी जारी छ।’

आकस्मिक सेवाका कर्मचारीले बालबालिकासहित घाइते सर्वसाधारणलाई नजिकैको अस्पतालमा पुर्‍याएको मन्त्रालयले जनाएको छ। घटनामा परी कम्तीमा १० जना घाइते भएको बताइएको छ।

एक सैन्य स्रोतका अनुसार दुर्घटनाको पछाडि प्राविधिक खराबी थियो। ‘विमानमा प्रविधिक खराबीका कारण दुर्घटना भएको प्रारम्भिक जानकारी मिलेको छ,’ आफूले पाएको तर आफू सञ्चारमाध्यमसँग कुरा गर्ने अख्तियार प्राप्त व्यक्ति नभएकाले नाम उल्लेख नगर्ने सर्तमा ती अधिकारीले एएफपीसँग भने।

सेना प्रमुख अब्देल फतह अल बुरहान र आरएसएफका पूर्व डेपुटी कमान्डर मोहम्मद हमादान डग्लोबीच करिब दुई वर्ष लामो द्वन्द्वमा यी घटनाले तीव्रता पाएका छन्। 

संयुक्त राष्ट्रसंघले सुडानलाई विश्वकै सबैभन्दा खराब मानवीय विपत्तिका रूपमा व्याख्या गरेको द्वन्द्वमा यी दुई नेता प्रतिद्वन्द्वी बनेका छन्, जसका कारण दसौँ हजार मानिसको ज्यान गएको छ।

यस लडाइँले खार्तुम र अन्य प्रमुख सहरहरू तहसनहस पारेको छ, लाखौँ मानिसहरू विस्थापित भएका छन् र महत्त्वपूर्ण पूर्वाधारहरू क्षतिग्रस्त भएका छन्।

मध्य सुडान र राजधानीमा हालै सेनाले नियन्त्रण लिने प्रयासमा प्रगति भएको तर द्वन्द्व समाधानको कुनै संकेत देखिएको छैन।रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad