ग्लोबल


बोलिभियामा २ बस जुध्दा कम्तीमा ३७ जनाको मृत्यु

‘चालकले मदिरा पिएको पाइयो’
बोलिभियामा २ बस जुध्दा कम्तीमा ३७ जनाको मृत्यु

नेपालखबर
फागुन १८, २०८१ आइतबार १३:३८, काठमाडौँ

बोलिभियाको दक्षिणी भागमा शनिबार राजमार्गमा दुई बस ठोकिँदा आठ नाबालकसहित कम्तीमा ३७ जनाको मृत्यु भएको प्रहरीले बताएको छ। यो यस वर्ष हालसम्मकै सबैभन्दा खराब बस दुर्घटना हो।

पोटोसी विभागमा उयुनी सहरनजिकै भएको दुर्घटनाबारे कर्नेल विलसन फ्लोरेसले भने, ‘हालसम्म हामीले ३७ मृत्युको पुष्टि गरेका छौँ।’

अन्य ४१ जना घाइते भएको र उनीहरूलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ।

मृतकमा पाँच पेरुभियाली र तीन वर्षीया जर्मन बालिकासहित ६ जना विदेशी नागरिक छन्। अन्य सात नाबालकको पनि मृत्यु भएको छ। दुर्घटना शनिबार बिहानै एक साँघुरो दुईतर्फी सडकमा भएको थियो।

यस सप्ताहन्तमा आयोजना हुने ओरुरो कार्निभलका लागि एउटा बस ओरुरो सहरतर्फ जाँदै थियो। ओरुरो कार्निभल दसौँ हजार मानिसलाई आकर्षित गर्ने ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो उत्सवमध्ये एक हो। 

पोटोसी अभियोजक गोन्जालो अपारिसियोले राज्य-सञ्चालित समाचार एजेन्सी एबीआईलाई एक बसका चालकले मदिरा पिएको र तीव्र गतिमा विपरीत लेनमा पुगेर आउँदै गरेको बससँग ठोकिएको बताएका छन्।

‘हालसम्म थाहा भएअनुसार एक बसका चालक मादक पदार्थको प्रभावमा थिए’, उनले भने। 

यसअघि एक अधिकारीले गम्भीर अवस्थामा दुर्घटनाबाट बाँचेका एक चालकमा ‘रक्सीको गन्ध’ पाइएको र त्यसैले रक्त परीक्षण गरिएको बताए।

बोलिभियाका घुमाउरो पहाडी सडक अत्यन्तै घातक मानिन्छन् । सरकारी तथ्यांकअनुसार करिब एक करोड २० लाख जनसंख्या भएको देशमा सडक दुर्घटनाबाट हरेक वर्ष औसत एक हजार चार सय जनाको मृत्यु हुने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad