सुडानी सेनाले राजधानी खार्तुममा रहेको राष्ट्रपति भवन अर्धसैनिक बल अर्थात् र्यापिड सपोर्ट फोर्सबाट फिर्ता लिएको छ। सैन्य नेताहरूले यो कुरा पुष्टि गरेका छन्।
बीबीसीद्वारा प्रमाणित र सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडिओ/तस्बिरमा सैनिकहरू खुसीसाथ बन्दुक हल्लाइरहेको, नारा लगाउँदै र प्रार्थना गरिरहेको देख्न सकिन्छ।
दुई वर्षअघि र्यापिड सपोर्ट फोर्सले सुडानको सेनालाई राजधानी खार्तुमबाट हटाएको थियो।
र्यापिड सपोर्ट फोर्सलाई आरएसएफ भनेर चिनिन्छ।
आरएसएफले यस विषयमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।
सेनाका प्रवक्ता नाबिल अब्दुल्लाहले सरकारी टेलिभिजनमा भनेका छन्, ‘सैन्य बलले मध्य खार्तुममा रहेको राष्ट्रपति भवन र मन्त्रालय भवन कब्जा गरेको छ।’
उनले थप भनेका छन्, ‘हाम्रा सेनाले शत्रुका लडाकु र उपकरण पूर्ण रूपमा नष्ट गरे र ठूलो मात्रामा हतियार र उपकरण कब्जा गरे।’
‘हामी पूर्ण विजय प्राप्त नगरेसम्म लडाइँ जारी राख्ने कुरा पुन: पुष्टि गर्दछौँ।’
खार्तुम त्यो ठाउँ हो, जहाँ दुई वर्षअघि सुडानको गृहयुद्ध सुरु भएको थियो र केही ठूला लडाइँ भएका थिए।
युद्ध सुरु भएदेखि नै आरएसएफले राजधानी खार्तुम र पश्चिमी सुडानमा नियन्त्रण कायम राखेको छ।
संयुक्त राष्ट्र संघका अनुसार यो युद्ध विश्वको सबैभन्दा ठूलो मानवीय संकट बनेको छ। यसमा सेना र आरएसएफ दुवैलाई मानवअधिकारको गम्भीर उल्लंघनको आरोप लगाइएको छ।
Shares

प्रतिक्रिया