चीनसँग नजिकिएको भन्दै भारतले बंगलादेशको ट्रान्जिट सुविधामा प्रतिबन्ध लगाएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार हालै चीन भ्रमणका क्रममा बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले भारतको उत्तरपूर्वी क्षेत्रबारे विवादास्पद बयान दिएका थिए।
उनले भनेका थिए- उत्तरपूर्वी भारत पूर्ण रूपमा जमिनले घेरिएको छ र बंगलादेश यस सम्पूर्ण क्षेत्रका लागि एक मात्र सामुद्रिक ढोका हो।
उनले यो क्षेत्र चीनको अर्थतन्त्रको विस्तार बन्न सक्नेसमेत बताएका थिए। भारतले यो कुरालाई गम्भीरतापूर्वक लिँदै बंगलादेशविरुद्ध तुरुन्तै आर्थिक जवाफ दिएको हो।
इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार अप्रिल ८ मा भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले २०२० मा जारी एक परिपत्र खारेज गरेको छ। भारतले यो सुविधा बन्द गरेकाले बंगलादेशको तेस्रो देशको व्यापारलाई नराम्रो असर पार्नेछ।
तर भारत सरकारको विदेश मन्त्रालयले बुधबार बंगलादेशसँगको यो व्यापार व्यवस्था खारेज गर्दा बंगलादेशको भारत हुँदै नेपाल वा भुटानसँग हुने निर्यातमा भने असर नपर्ने जनाएको छ।
‘बंगलादेशलाई विस्तार गरिएको ट्रान्ससिपमेन्ट सुविधाले गर्दा हाम्रा विमानस्थल र बन्दरगाहहरूमा लामो समयदेखि उल्लेखनीय भीडभाड भइरहेको थियो। रसद ढिलाइ र उच्च लागतले हाम्रो आफ्नै निर्यातमा बाधा पुर्याइरहेको थियो। त्यसैले २०२५ अप्रिल ८ देखि यो सुविधा फिर्ता लिइएको छ’, भारतको विदेश मन्त्रालयले बुधबार भनेको छ, ‘स्पष्ट छ- यो व्यवस्थाले भारतीय क्षेत्र हुँदै नेपाल वा भुटानमा हुने बंगलादेशको निर्यातलाई भने असर गर्दैन।’
(सच्याइएको*)
Shares

प्रतिक्रिया