दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलविरुद्ध सोमबार फौजदारी मुद्दा दायर गरिने भएको छ।
गत डिसेम्बरमा सैनिक शासन लागू गर्ने प्रयास गरेपछि महाभियोग लगाएर राष्ट्रपति पदबाट हटाइएका युनविरुद्ध यही अभियोगमा फौजदारी मुद्दा पनि हाल्न लागिएको हो।
राष्ट्रपति पदमा रहँदा उनले गत डिसेम्बर ३ मा देशमा मार्सल ल अर्थात् सैन्य कानुन घोषणा गरेका थिए। तर विपक्षी सांसदले संसद्मा व्यापक विरोध गरेपछि ६ घण्टामै उनी आफ्नो निर्णय फिर्ता लिन बाध्य भएका थिए।
तर पनि विनाशकारी प्रयास गरेको भन्दै दक्षिण कोरियाली संसद्ले युनलाई महाभियोग लगाएपछि उनी पदबाट निलम्बन भएका थिए।
यसपछि त्यहाँको प्रावधानअनुसार महाभियोग संवैधानिक अदालतले अप्रिल ४ मा सदर गरेपछि उनी राष्ट्रपति पदबाट बर्खास्तै भएका हुन्।
तर अझै पनि विद्रोहको अभियोगमा उनीविरुद्ध सोमबार आपराधिक मुद्दा दायर गर्ने तयारी गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
फेब्रुअरीमा भएको प्रारम्भिक सुनुवाइका क्रममा युनका वकिलले उनको हिरासत प्रक्रियागत रूपमा त्रुटिपूर्ण भएको तर्क गरेका थिए, जुन तर्कलाई अदालतले स्वीकार गरेको थियो। यसपछि उनी पक्राउ परेको ५२ दिनपछि रिहा भएका थिए।
हप्तौँसम्म प्रहरी र अभियोजनकर्ताविरुद्ध आवाज उठाएपछि जनवरीमा उनलाई पक्राउ गरिएको थियो। उनी पदमा रहेकै बेला पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति हुन्।
दोषी ठहरिएमा युनलाई आजीवन कारावास वा मृत्युदण्डसमेत हुन सक्छ।
युनलाई हटाएसँगै दक्षिण कोरियामा आगामी जुन ३ मा राष्ट्रपति चुन्न चुनाव हुँदै छ।
त्यतिबेलासम्म दक्षिण कोरियाको शासन कार्यवाहक राष्ट्रपति हान डक-सोले सम्हाल्नेछन्।
Shares

प्रतिक्रिया