ग्लोबल


१० दिनअघि भागेका हुनेवाला सासू–ज्वाइँ नेपाल सीमाबाट समातिए

१० दिनअघि भागेका हुनेवाला सासू–ज्वाइँ नेपाल सीमाबाट समातिए

नेपालखबर
बैशाख ३, २०८२ बुधबार २०:२०, काठमाडौँ

भारतको उत्तरप्रदेशस्थित अलीगढमा छोरीको विवाह हुनु १० दिनअघि हुनेवाला ज्वाइँसँग भागेकी महिलालाई बुधबार प्रहरीले पक्राउ गरेको छ। 

हिन्दुस्तानका अनुसार प्रहरीले दुवै जनालाई नेपाल सीमाबाट पक्राउ गरेको दाबी गरेको छ। तर, हुनेवाला सासूसँग भागेका युवकले आफैँ प्रहरी चौकीमा उपस्थित भएको दाबी गरेका छन्।

आमा आफ्नो हुनेवाला श्रीमान्‌सँग भाग्दा छोरी बिरामी नै परेको बताइएको छ। 

अलीगढको मद्रक क्षेत्रवासी जितेन्द्र कुमारले केही महिनाअघि आफ्नी छोरी शिवानीको विवाह दादो निवासी राहुलसँग गर्ने तय गरेका थिए। उनीहरूको बिहे अप्रिल १६ मा गर्ने भनेर मिति तोकिएको थियो। 

छोरीको विवाहको लागि बैंगलोरमा काम गर्ने बुबाले ५ लाख रुपैयाँको गहनासमेत तयार पारेका थिए भने ३ लाख ५० हजार रुपैयाँ जम्मा पारेका थिए। 

तर विवाहको दस दिनअगाडि अप्रिल ६ का दिन छोरीकी आमा आफैँ हुनेवाला ज्वाइँसँग भागिन्। घरमा राखेका गरगहना र पैसा पनि लिएर गइन्। यसपछि परिवारका सदस्यले प्रहरी कार्यालयमा उजुरी दिए।

खोजी गर्ने क्रममा बुधबार प्रहरीले दुवै जनालाई नेपाल सीमाबाट पक्राउ गरी दादोन प्रहरी चौकीमा ल्याएको हो। 

प्रहरीले पक्राउ गर्नेबित्तिकै हुनेवाला ज्वाइँसँग भागेकी महिला धुरुधुरु रुन थालिन्। उनले श्रीमान्‌ले हरेक दिनजसो रक्सी खाएर कुटपिट गर्ने गरेको आरोप लगाइन्। 

उनले प्रहरीसमक्ष बताएअनुसार जब छोरी शिवानीका हुनेवाला पति राहुलले घरमा फोन गर्थे, उनी पनि कहिलेकाहीँ उनीसँग कुरा गर्थिन्। अनि उनका श्रीमान् र छोरीले उनलाई आरोप लगाउँथे। श्रीमान्‌ले उनलाई दुर्व्यवहार गर्थे र राहुलसँगै जा भन्थे।

हुनेवाला ज्वाइँसँग भागेकी सपनाले भनिन्, ‘उस (पति) ले मेरो नाम राहुलसँग जोड्न थाल्यो। राहुलसँग मेरो अवैध सम्बन्ध छ भन्थ्यो। जब मैले यो कुरा राहुललाई भनेँ, उनले मेरो पीडा बुझे। राहुलले मलाई बुझेकामा राम्रो लाग्यो। यसपछि मैले राहुलसँगै जाने निर्णय गरेँ। म राहुललाई माया गर्छु र अब म उनैसँग बस्न चाहन्छु।’

कहाँ बसे दस दिन?
भावी सासूसँगै भागेका राहुलले बताएअनुसार अप्रिल ६ मा अलीगढबाट उनीहरू कासगंज पुगेको र यसपछि बस बरेली हुँदै बिहारको मुजफ्फरपुर पुगे र होटलमा बसे।

तर आफूहरूले गहना तथा पैसा लगेको भन्ने आरोप गलत भएको दाबी उनले गरे। 

उनले भने, ‘हामीले केही चोरेका छैनौँ, हामी एकअर्कालाई माया गरेकोले भागेका हौँ।’

हेर्नुहोस् भिडिओ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad