ग्लोबल


भारतलाई बंगलादेशको जवाफ: धागो आयातमा प्रतिबन्ध

भारतलाई बंगलादेशको जवाफ: धागो आयातमा प्रतिबन्ध

मोदी र युनुसको फाइल तस्बिर


नेपालखबर
बैशाख ५, २०८२ शुक्रबार १३:१६, काठमाडौँ

अमेरिकासँग नजिकिएको भन्दै आफूलाई दिइएको ट्रान्ससिपमेन्ट सुविधा फिर्ता लिएको बदलामा बंगलादेशले पनि भारतबाट भूमि बन्दरगाहमार्फत हुने धागो आयातमा प्रतिबन्ध लगाएको छ। 

बंगलादेशको अंग्रेजी पत्रिका द डेली स्टारका अनुसार राष्ट्रिय राजस्व बोर्ड (एनबीआर) ले भारतबाट आउने कच्चा पदार्थबाट स्थानीय कपडा उद्योगलाई जोगाउन बंगलादेशले उक्त निर्णय गरेको हो। 

द डेली स्टारका अनुसार, बंगलादेशका कपडा मिल मालिकहरूले यो निर्णयको स्वागत गरेका छन् भने निर्यातकर्ताहरूले विरोध गरेका छन्।

अप्रिल १३ मा जारी सूचनामा राष्ट्रिय राजस्व बोर्डले बेनापोल, भोमारा, बंगलाबान्धा, बारिमरी र सोनामसजिद भूमि बन्दरगाह हुँदै भारतबाट हुने धागो आयातमा प्रतिबन्ध लगाएको जनाइएको छ।

‘यो राम्रो निर्णय होइन’, प्लमी फेसन लिमिटेडका महाप्रबन्धक मोहम्मद फजलुल हकले भने, ‘बंगलादेशले पहिले नै अमेरिकी बजारमा निर्यातमा १० प्रतिशत भन्सार महसुलको सामना गरिरहेको छ। हामी भारतीय उत्पादनबाट पनि चुनौती सामना गरिरहेका छौँ। यस्तो अवस्थामा भारतबाट धागो आयातमा कुनै पनि प्रतिबन्धले बंगलादेशको निर्यातलाई असर गर्नेछ। हामीलाई भारतबाट धागो आयात गर्न अनुमति दिइनुपर्छ। खुला बजारमा यस्ता प्रतिबन्धहरूको कुनै अर्थ हुँदैन।’

डोनाल्ड ट्रम्पले अमेरिकाको बागडोर सम्हालेदेखि नै विश्वभर व्यापार युद्ध सुरु भएको छ। यसको प्रत्यक्ष असर भारत र बंगलादेशबीच पनि देखिएको हो। 

थाइल्यान्डको राजधानी बैंककमा भएको छैटौँ बिमस्टेक शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसबीचको भेटपछि दुई देशबीच सम्बन्ध सुध्रिने अनुमान गरिएको थियो। 

तर त्यसको ३ दिनपछि भारत सरकारले २०२० देखि बंगलादेशलाई दिइरहेको ट्रान्ससिपमेन्ट सुविधा फिर्ता लियो। जसका कारण भारतीय विमानस्थल र बन्दरगाहबाट आफ्ना उत्पादन तेस्रो मुलुकमा निर्यात गर्नबाट बंगलादेश वञ्चित भयो। 

भारतीय सञ्चारमाध्यमका अनुसार हालै चीन भ्रमणका क्रममा बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले भारतको उत्तरपूर्वी क्षेत्रबारे विवादास्पद बयान दिएका थिए।

उनले भनेका थिए, ‘उत्तरपूर्वी भारत पूर्ण रूपमा जमिनले घेरिएको छ र बंगलादेश यस सम्पूर्ण क्षेत्रका लागि एक मात्र सामुद्रिक ढोका हो।’

उनले यो क्षेत्र चीनको अर्थतन्त्रको विस्तार बन्न सक्नेसमेत बताएका थिए। भारतले यो कुरालाई गम्भीरतापूर्वक लिँदै तुरुन्तै बंगलादेशको ट्रान्जिट सुविधामा प्रतिबन्ध लगाएको हो। 

तर यसले बंगलादेशबाट भारत हुँदै नेपाल वा भुटानसँग हुने निर्यातमा असर नपर्ने भारतीय विदेश मन्त्रालयले त्यही बेला बताइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad