भारतीय राज्य उत्तर प्रदेशको इटावा जिल्लामा एउटा दर्दनाक घटना भएको छ।
आजतकका अनुसार त्यहाँ एक युवकले पत्नीको यातना सहन नसेकेको भन्दै प्राण त्याग गरेका हुन्।
उनको शव जोली होटलको एउटा कोठामा भेटिएको थियो। मर्नुअघि उनले रेकर्ड गरेको भिडिओ पनि प्रहरीले बरामद गरेको छ।
त्यसमा युवक भनिरहेका छन्, ‘जतिबेला तपाईंहरूले यो भिडिओ पाउनुहुनेछ, म यस संसारमा हुने छैन। यदि पुरुषहरूका लागि पनि कानुन हुन्थ्यो भने सायद म यो गलत कदम चाल्ने थिइनँ। मेरी श्रीमती र सासू-ससुराबाट हुने मानसिक यातना मैले सहन सकिनँ...त्यसैले म यो कदम चाल्दै छु। बुबा, आमा, मलाई माफ गर्नुहोस्।’
यो दुःखद कथा हो- एक सिमेन्ट कम्पनीमा फिल्ड इन्जिनियरका रूपमा कार्यरत मोहित यादवको। औरैया जिल्लाको दिबियापुरका बासिन्दा उनले प्रेम सम्बन्धपछि प्रिया यादवसँग विवाह गरेका थिए। जीवनमा सबै कुरा राम्रै चलिरहेको थियो। तर यसैबीच प्रिया बिहारको समस्तीपुरमा प्राथमिक शिक्षकाका रूपमा छनोट भइन्। त्यसपछि प्रियाले आफ्नो व्यवहार बदलेको पीडित परिवारको आरोप छ।
मृतकका भाइ तरण प्रतापले बताएअनुसार उनका दाइ भाइ मोहित नोएडाको एक सिमेन्ट कम्पनीमा काम गर्थे। प्रिया पहिले नोएडामै बस्थिन्। त्यहीँबाट दुईबीच सम्बन्ध विकास भयो। सात वर्षसम्म सम्बन्धमा रहेपछि उनीहरूले बिहे गरे। परिवारका सदस्यहरूको सहमतिमै विवाह भएको थियो। विवाहका तीन महिनासम्म सबै ठीकठाक थियो। तर यसपछि प्रियाले मोहितलाई सताउन थालिन्। उनलाई आफ्नो परिवारका सदस्यहरूबाट पनि अलग गरिन् र सबै सम्पत्ति आफ्नो नाममा हस्तान्तरण गर्न दबाब दिन थालिन्। नत्र झुटो मुद्दामा फसाइदिने धम्की दिइन्।
आत्महत्या गर्नुअघि मोहितले रेकर्ड गरेको भिडिओमा भनेका छन्, ‘मेरी श्रीमती प्रिया यादवकी आमाले मेरो बच्चाको गर्भपतन गराइदिइन्। गहना र साडीहरू आफूसँगै राखिन्। मेरी श्रीमतीले घर र सम्पत्ति सबै आफ्नो नाममा हस्तान्तरण नगरे मलाई र मेरो परिवारलाई झुटा दाइजोको आरोपमा फसाउने धम्की दिइरहेकी छन्। म मानसिक यातनाबाट वाक्क भइसकेको छु र मृत्युपछि पनि न्याय पाएन भने मेरो खरानी नालीमा फालिदिनुपर्छ। आमा र बुबा, मलाई माफ गर्नुहोस्। मैले तपाईंहरूको सपना पूरा गर्न सकिनँ।’
एसपी सिटी अभयनाथ त्रिपाठीले रेलवे स्टेसन रोडमा रहेको जोली होटलबाट सूचना प्राप्त भएको बताए। मोहित कुमार कोठा नम्बर १०५ मा बसे र बाहिर निस्केनन्।
कोठा जाँच गर्दा उनी झुण्डिएको अवस्थामा मृत भेटिए। पहिलो नजरमा यो घटना आत्महत्याजस्तो देखिन्छ। तथापि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृतकको शव पोस्टमार्टमपछि आफन्तलाई बुझाइएको छ।
Shares

प्रतिक्रिया