ग्लोबल


अमेरिकाले भन्यो : भान्स र मोदीको वार्तामा नयाँ व्यापार सम्झौताबारे ठूलो प्रगति भयो

अमेरिकाले भन्यो : भान्स र मोदीको वार्तामा नयाँ व्यापार सम्झौताबारे ठूलो प्रगति भयो

नेपालखबर
बैशाख ९, २०८२ मंगलबार १५:५६,

जेडी भान्स र नरेन्द्र मोदीबीचको वार्तामा द्विपक्षीय व्यापार सम्झौता गर्ने विषयमा ठूलो प्रगति भएको अमेरिकाले बताएको छ। सोमबार साँझ नयाँ दिल्लीमा यी दुई नेताबीच द्विपक्षीय वार्ता भएको थियो। उनीहरूले आगामी वार्ताका लागि आवश्यक मार्गचित्र तयार गरेको बताइएको छ।

भान्सको चारदिने भ्रमणका सम्बन्धमा ह्वाइट हाउसले भनेको छ, ‘दुई पक्षले एउटा नयाँ र आधुनिक व्यापार सम्झौताका लागि वार्ता अघि बढाउन मार्गचित्र तयार गरेका छन्।’

वार्तापछि सोमबार मोदीले भनेका छन्, ‘हामी व्यापार, प्रविधि, रक्षा, ऊर्जा र जनस्तरको सम्बन्धमा पारस्परिक लाभ हुने सहकार्यका लागि प्रतिबद्ध छौँ।’

मोदीले भान्सलाई निवासमा रात्रिभोज पनि दिएका थिए।

भारतका लागि २७ प्रतिशत कर घोषणा गरेका ट्रम्पले ९० दिनका लागि त्यसलाई रोक्का गरेका छन्। जुन म्याद जुलाई ९ मा समाप्त हुँदैछ।

वासिङ्टनको लक्ष्य भारतीय बजारमा अमेरिकी सामानको पहुँच विस्तार गर्नु, भारतले लगाउने कर घटाउनु रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्।

भान्स सोमबार इटली हुँदै पत्नी उषा र तीन सन्तानसहित भारत आइपुगेका हुन्। उषाका आमाबुबा दक्षिणी राज्य आन्ध्र प्रदेशबाट अमेरिका बसाइँ सरेका थिए। 

सोहीकारण भारतीय सञ्चारमाध्यमले उनीहरूको भ्रमणलाई ठूलो महत्त्व दिएका छन्। भान्सका छोराहरूले कुर्ता पाइजामा र तीन वर्षीया छोरीले लेहेंगा लगाएको तस्बिर भारतीय सञ्चारमाध्यमहरूमा छ्यापछ्याप्ती भएका छन्।

द्विपक्षीय वार्ताका अलावा भान्सको भ्रमण निजी प्रकृतिको छ। मोदीसँगको भेटपछि उनी जयपुर गएका छन्। उनले बुधबार स्वदेश फर्किनुअघि ताज महल घुम्ने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad