पश्चिम बंगालको भारतीय प्रविधि संस्थान (आईआईटी) मा एक विद्यार्थी रहस्यमय परिस्थितिमा मृत फेला परेका छन्।
यो कुरा राज्य प्रहरी मुख्यालयका एक अधिकारीले पुष्टि गरेका छन्। यही वर्ष अहिलेसम्म उक्त संस्थानमा यस्तो प्रकारको मृत्यु यो तेस्रो हो।
एक वरिष्ठ प्रहरी अधिकारीले बीबीसी हिन्दीसँग भनेका छन्, ‘विद्यार्थी बी.टेकको तेस्रो वर्षमा थिए र उनको शव उनको होस्टेलको कोठामा फेला परेको थियो। घटना बिहान ४ बजे भएको थियो र विद्यार्थी बिहारको शिवहरका बासिन्दा भएको बताइएको छ।’
प्रहरीका अनुसार आईआईटी क्याम्पसमा रहेको प्रहरी चौकीमा तैनाथ कर्मचारीले यसको जानकारी पाएपछि विद्यार्थीको कोठाको ढोका फोडेर हेरेका थिए। जहाँ विद्यार्थी मृत भेटिए।
समाचारमा विद्यार्थीको परिचय खुलाइएको छैन भने यस विषयमा आईआईटी व्यवस्थापनले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
यसै वर्ष जनवरीमा पनि यस्तै परिस्थितिमा होस्टेलबाट एक विद्यार्थीको शव बरामद भएको थियो।
अप्रिलमा अनिकेत वाल्कर नामक चौथो वर्षका इन्जिनियरिङ विद्यार्थीको शव पनि रहस्यमय परिस्थितिमा फेला परेको थियो।
प्रहरी र व्यवस्थापनले सबै मृत्युको कारण आत्महत्या भएको दाबी गरेका छन्।
तर प्रहरी अधिकारीले अनुसन्धानपछि मात्र विद्यार्थीको मृत्युबारे स्पष्ट रूपमा केही भन्न सकिने बताएका छन्।
Shares

प्रतिक्रिया