कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ की १८ वर्षीया किशोरीमाथि भारतको बङ्लोरमा निर्घात कुटपिट भएको छ। बन्धक बनाएर निर्मम यातनाकी शिकार बनेकी ती किशोरी अहिले अचेत अवस्थामा छिन्।
पीडित परिवारका अनुसार ती किशोरीलाई २ वर्षअघि पढाइको लागि उनका मामा नाता पर्ने गणेश विष्टको जिम्मा लगाइएको थियो। विष्ट भारतको बैंग्लोरमा रोजगारी गर्छन्। भान्जीलाई पढाइदिने बताएपछि आमाले छोरीलाई मामाकहाँ पुगाएकी थिइन्।
त्यसको केही महिनापछि आमाको निधन हुँदा परिवारसँगको सम्पर्क टुट्यो। पढाइदिने भन्दै भारतमा बोलाएका मामा गणेश विष्टकै भाइ नरेशले भान्जीसँग बिहे गरेको पीडित परिवारका आफन्तले बताएका छन्।
‘पढाउन भनेर लगेकी भतिजीलाई त्यहाँ गणेशका भाइ नरेशले बिहे गरेछ, उनलाई बन्धक बनाएर यातना दिने रहेछन्,’ किशोरीका काकाले भने।

पीडित किशोरीका काका पनि बैंग्लोरमै काम गर्छन्। ती किशोरीले काकासँग फोन गरेर केही महिनाअघि नरेशले कुटपिट गर्ने गरेको, कोठाभन्दा बाहिरसमेत जान नदिएको भनेकी थिइन्।
ती किशोरीलाई आइतबार मामा गणेशले अचेत अवस्थामा घर ल्याएका छन्। उनको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित झलारीमा उपचार भइरहेको छ। उनी अहिलेसम्म होसमा आएकी छैनन्।
किशोरीलाई लिएर आएका गणेशलाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेको छ। प्रारम्भिक सोधपुछका क्रममा नरेशसँग किशोरीको बिहे भएको खुलेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले बताए।
पक्राउ परेका गणेशले किशोरीलाई कुटपिट गरेर नरेशले मार्न खोजेकाले ती किशोरीलाई लिएर घरमा आएको प्रहरीसमक्ष बताएका छन्।
घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बस्नेतले बताए।
Shares

प्रतिक्रिया