भीमदत्त नगरपालिका-९ स्थित ऐतिहासिक ब्रह्मदेव बजार गुलजार छ। महाकाली नदी छेउमै रहेको ब्रह्मदेवमा सडकको दायाँबायाँ लहरै साना पक्की र केही अस्थायी प्रकृतिका घर देखिन्छन्। त्यसमा कसैले होटल थापेका छन्, त कसैले लत्ताकपडा, खाद्यान्न, किराना, मिठाइ तथा फलफूलको पसल।
भीमदत्त नगरपालिका-९ स्थित ब्रह्मदेव भारतसँग जोडिएको पुरानो नेपाली बजार हो। सदरमुकाम महेन्द्रनगरबाट करिब १२ किलोमिटर उत्तरपश्चिम दूरी पार गरेपछि ब्रह्मदेव पुगिन्छ।

यो बजारमा भेटिने अधिकांश नागरिक भारतका छन्। यसलाई भारतीय ग्राहक भित्र्याउने बजारका रूपमा पनि चिनिन्छ।
सदरमुकाम महेन्द्रनगर हुनुअघिसम्म ब्रह्मदेवबाट भारतसँग कारोबार हुने तथा सुदूरपश्चिमका पहाडी क्षेत्रका लागि नुन, तेल, खाद्यान्नलगायतका सामान आपूर्ति हुने गरेको बुढापाका बताउँछन्।
किसान नेता भीमदत्त पन्तले नुन कब्जा गरेर सर्वसाधारणलाई बाँडेको ठाउँलगायत लामो इतिहास बोकेको ब्रह्मदेव बजार भारतीय ग्राहकमा निर्भर छ। ‘अधिकांश ग्राहक भारतकै हुन्छन्, लत्ताकपडा तथा चाइनिज सामान किनमेल गर्नका भारतीय नागरिक आउँछन्,’ ब्रह्मदेवका व्यवसायी लक्ष्मी खत्रीले भनिन्, ‘भारतीय ग्राहक नआएमा हाम्रो व्यापार नै हुँदैन।’

प्रत्येक वर्ष फागुपूर्णिमादेखि असार पूर्णिमा र दसैँमा भारतको प्रसिद्ध तीर्थस्थल पूर्णागिरिमा नवरात्रि मेला लाग्ने हुनाले यो समयमा ब्रह्मदेव बजारमा चहलपहल बढी हुने गरेको छ।
‘मौसमी बजार’ को उपमा समेत पाएको ब्रह्मदेव बजारका व्यापारीले अन्य समयमा भने ग्राहकको बाटो ढुकेर बस्नुपर्ने बाध्यता रहेको बताउँछन्। ‘नेपाली गाउँ खल्ला-मसेट्टी-टुँडिखेल र ब्रह्मदेवका ग्राहक पनि आउँछन् तर यहाँका धेरैजसो किनमेल गर्नका लागि महेन्द्रनगर र टनकपुरतिर जाने गर्छन्,’ व्यापारी दत्तराज पनेरुले भने, ‘यहाँको व्यवसाय भारतीय उपभोक्ताले धानेका छन्।’

यस वर्ष पूर्णागिरिमा लागेको नवरात्र मेला भएसँगै ब्रह्मदेव बजारमा नजिकै रहेको सिद्धनाथ मन्दिर दर्शन गर्ने भारतीय दर्शनार्थीको चहलपहल बढेको छ।
पूर्णागिरि मेलाको दर्शन गरेका भारतको उत्तराखण्ड र उत्तरप्रदेशका दर्शनार्थीको ब्रह्मदेव र महेन्द्रनगरस्थित सिद्धनाथ मन्दिरको दर्शन गरेपछि मनोकांक्षा पूरा हुने विश्वास छ।

Shares

प्रतिक्रिया