इजरायली सेनाले यमनको राजधानी सानाको अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई आक्रमण गरेको छ।
इजरायल रक्षा बल (आईडीएफ) ले यस आक्रमणमा यमनका हुथी विद्रोही लुक्ने धेरै ठाउँ ध्वस्त पारिएको र विमानस्थल पूर्ण रूपमा बन्द गरिएको दाबी गरेको छ।
मंगलबारको आक्रमणअघि आईडीएफले मानिसहरूलाई विमानस्थल खाली गर्न र क्षेत्रबाट टाढा सर्न भनेको थियो।
डिसेम्बरमा पनि इजरायलले साना अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाएको थियो।
एक दिनअघि इजरायलले यमनको हुदयदाह सहरमा पनि आक्रमण गरेको थियो।
इरान समर्थित हुथी विद्रोहीहरूले इजरायलको मुख्य विमानस्थलनजिकै गरेको क्षेप्यास्त्र आक्रमणको जवाफमा यो कारबाही गरिएको हो।
इजरायलले यसअघि जनवरीमा यमनमा हुथी विद्रोहीविरुद्ध धेरै आक्रमण गरेको थियो, जसमा पावर प्लान्ट र बन्दरगाह पनि परेका थिए।
इजरायली सेनाले हुथीहरूले यो विमानस्थललाई हतियार आपूर्ति गर्न प्रयोग गरिरहेको दाबी गरेको छ।
रोयटर्सका अनुसार इजरायलले गरेको यस आक्रमणमा तीन नागरिक विमान, प्रस्थान हल, धावनमार्ग र एक सैन्य हवाई अड्डालाई निशाना बनाइएको थियो।
हुथी विद्रोहीहरूले संयुक्त रूपमा अमेरिका र इजरायललाई आक्रमणको दोष लगाएका थिए, तर एक अमेरिकी रक्षा अधिकारीले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार यमनमा भएको आक्रमणमा उनीहरूका सेना संलग्न थिएनन्।
Shares

प्रतिक्रिया