युक्रेनले भारत र पाकिस्तानलाई संयम अपनाउन र कूटनीतिक वार्तालाई प्राथमिकता दिन अपिल गरेको छ।
युक्रेनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी दक्षिण एसियाको सुरक्षा अवस्थालाई अझ बिग्रन सक्ने त्यस्ता कदमबाट बच्नुपर्नेमा जोड दिएको छ।
मन्त्रालयले विकसित घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको उल्लेख गर्दै अशान्त क्षेत्रमा शान्ति र स्थायित्व सुनिश्चित गर्न अन्तर्राष्ट्रिय पहल र प्रयासलाई समर्थन भजारी राख्ने पनि बताएको छ।
यसैबीच बेलारुसले पनि भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेको छ।
उसले विज्ञप्तिमा आफू समस्याको समाधान खोज्न वार्ता र अन्य शान्तिपूर्ण माध्यमका पक्षमा रहेको उल्लेख गरेको छ।
अप्रिल २२ मा जम्मु-कश्मीरको पहलगाममा आतंककारीले २६ जनाको हत्या गरेको बदलामा भारतले मंगलबार राति पाकिस्तानमा हवाई हमला गरेको हो।
जसमा २६ जना नागरिकको मृत्यु तथा ४६ जना घाइते भएको पाकिस्तानी सैन्य प्रवक्ताले बताएका छन्।
त्यसपछि बुधबार बिहान पाकिस्तानले कश्मीर क्षेत्रमा गरेको गोलाबारीमा १५ जना मारिएको र ४३ जना घाइते भएको भारतीय सेनाले जनाएको छ।
Shares

प्रतिक्रिया