इरानको आणविक केन्द्रहरूमा अमेरिकाले हालै गरेको आक्रमणबारे चीनका विदेशमन्त्री वाङ यीले इरानी विदेशमन्त्री अब्बास अरागचीसँग कुरा गरेका छन्।
चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले दुई देशका विदेशमन्त्रीबीच कुराकानी भएको जानकारी दिएका हुन्।
सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उनले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को सुरक्षा उपायका बाबजुद आणविक केन्द्रहरूमा आक्रमण संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको उद्देश्यको गम्भीर उल्लंघन हो।"
‘यसले आणविक चुहावट वा विपत्ति निम्त्याउन सक्छ। अन्तर्राष्ट्रिय समुदायले यसको विरोध गर्नुपर्छ।’
चीनको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘चीनले सार्वभौमसत्ता र सुरक्षाको रक्षा गर्न इरानको कदमलाई समर्थन गर्छ।’
‘यस उद्देश्यका लागि चीनले वास्तविक युद्धविराम गर्न र मध्यपूर्वको अवस्था सामान्य बनाउन मद्दत गर्न पहल गर्छ।’
अमेरिकाले गत शनिबार राति इरानका फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा आक्रमण गरेको थियो।
तर त्यसबाट इरानको आणविक कार्यक्रम नष्ट भएको छैन भन्ने रिपोर्ट बाहिरिएपछि ट्रम्पले खण्डन गरिरहेका छन्।
Shares

प्रतिक्रिया