ग्लोबल


नेटो प्रमुख भन्छन् : चीनले ताइवान र रुसले नेटोमा एकैपटक आक्रमण गर्नेछन्

नेटो प्रमुख भन्छन् : चीनले ताइवान र रुसले नेटोमा एकैपटक आक्रमण गर्नेछन्

नेपालखबर
असार २२, २०८२ आइतबार १६:५७,

नेटोका महासचिव मार्क रुटले ताइवानमाथि चीनले र नेटोमाथि रुसले एकैपटक आक्रमण गर्ने बताएका छन्। सी चिनफिङको आँखा ताइवानमा र पुटिनको आँखा सोभियत संघबाट फुटेका इस्टोनिया, लाट्भिया र लिथुवानियामा रहेको उनको भनाइ छ।

द न्युयोर्क टाइम्सलाई अन्तर्वार्ता दिँदै रुटले ताइवानमा आक्रमण गर्नुअघि सीले पुटिनलाई नेटोमाथि हमला गर्न लगाउने दाबी गरेका हुन्।

‘बढ्दो रुपमा यो कुरा महसुस हुँदै गएको छ। र, यसबारे अञ्जान नबनौँ,’ उनको चेतावनी छ, ‘यदि सी चिनफिङले ताइवानमा आक्रमण गरे भने उनले पहिले मस्कोमा बस्ने आफ्ना निकै कनिष्ठ साझेदार भ्लादिमिर पुटिनलाई फोन गरेर भन्नेछन्, ‘हेर्नुस्, म यस्तो गर्न जाँदैछु, त्यसैले तपाईंले नेटो भूमिमा आक्रमण गरेर उनीहरूलाई युरोपमा व्यस्त राख्नुपर्‍यो।’ यो कुरा यसरी अघि बढ्ने सम्भावना सबैभन्दा ज्यादा छ।’

यसलाई रोक्न रुटले दुई उपाय सुझाएका छन्।

‘एक त नेटो सामूहिक रुपमा यति बलियो हुनुपर्छ, जसका कारण रुसले कहिल्यै त्यस्तो (आक्रमण) गर्ने छैन। दोस्रो, इन्डो–प्यासिफिकमा मिलेर काम गर्ने, जसलाई राष्ट्रपति ट्रम्पले अघि सारिरहनुभएको छ,’ उनले भने।

नेटोले वर्षदिनमा उत्पादन गर्ने हतियार रुसले तीन महिनामै उत्पादन गरिरहेको भन्दै उनले रक्षा बजेट बढाउन आह्वान पनि गरे।

‘यो टिकाउ त छैन तर रुसीहरूले उत्तर कोरियाली, चिनियाँ र इरानी मुल्लाहहरूसँग मिलेर काम गरिरहेका छन्, युक्रेनमा लडिरहेका छन्। त्यसैले यहाँ इन्डो प्यासिफिक र एटलान्टिक झनझन् आपसमा जोडिएको छ,’ उनको भनाइ छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad