रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ताका विषयमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा पहिलोपटक पोस्ट गरेका छन्।
उनले ट्रुथ सोसलमा अलास्कामा भएको भेटवार्तालाई ’धेरै राम्रो’ भएको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘अलास्कामा एक अद्भुत र अत्यन्तै सफल दिन! रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेट धेरै राम्रो रह्यो। साथै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र नेटोका महासचिवसहित धेरै युरोपेली नेताहरूसँगको अबेर रातिसम्म फोन कल पनि धेरै राम्रो रह्यो।’
आफ्नो पोस्टमा ट्रम्पले युद्धविराम सम्झौताको सट्टा शान्ति सम्झौतामा जोड दिएका छन्।
उनले लेखेका छन्, ‘सबैले तय गरे कि रुस र युक्रेन बीचको भयानक युद्ध अन्त्य गर्ने उत्तम तरिका भनेको प्रत्यक्ष शान्ति सम्झौतामा पुग्नु हो, जसले युद्धलाई पूर्ण रूपमा अन्त्य गर्नेछ। युद्धविराम सम्झौता अक्सर लामो समय टिक्दैन।’
अमेरिकाको अलास्कामा दुई नेताबीच ३ घण्टा भेटवार्ता भए पनि केके कुरामा सहमति भयो भन्ने विषयमा अहिलेसम्म प्रस्ट कुरा आइसकेको छैन।
Shares

प्रतिक्रिया