अमेरिकी विदेश मन्त्रालयले गाजाबाट आउने मानिसहरूका लागि सबै भिजिट भिसा स्थगन गरिएको घोषणा गरेको छ।
मन्त्रालयले भनेको छ, ‘यो निलम्बन हालका दिनहरूमा अस्थायी उपचार र मानवीय आधारमा केही भिसा जारी गर्न आवश्यक प्रक्रियाको गहन समीक्षाका लागि हो।’
केही प्यालेस्टिनी अधिकार समूहले अमेरिकाको यो निर्णयको निन्दा गरेका छन्।
प्यालेस्टिनी बाल राहत कोषले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यो निर्णयले ‘गाजाबाट घाइते र गम्भीर बिरामी बालबालिकालाई उपचारका लागि अमेरिका ल्याउने हाम्रो क्षमतामा गम्भीर प्रभाव पार्नेछ।’
अमेरिकी विदेश मन्त्रालयको नीतिमा यो परिवर्तन अति दक्षिणपन्थी कार्यकर्ता लौरा लुमरले भिसा कार्यक्रमको आलोचना गर्दै एक्समा धेरै पोस्ट लेखेपछि गरिएको हो। उनले ट्रम्प प्रशासनलाई ‘यसलाई बन्द गर्न’ आग्रह गरेकी थिइन्।
प्यालेस्टिनी बाल राहत कोषले २०२४ मा आफ्नो विदेश उपचार कार्यक्रमअन्तर्गत गाजाबाट १६९ बालबालिकालाई बाहिर निकालेको बताएको छ। यी बालबालिकालाई उपचारका लागि मध्य पूर्व, युरोप, दक्षिण अफ्रिका र अमेरिका लगिएको थियो।
७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गरेदेखि लगभग दुई वर्षदेखि जारी युद्धमा गाजाका अधिकांश अस्पताल ध्वस्त भएका छन्। यहाँका मानिस खाद्यान्नको चरम अभावमा छन्।
Shares

प्रतिक्रिया