विश्वका नेताहरूले भरिएको बैठक हलमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन एकअर्काको हात समातेर प्रवेश गर्छन्। उनीहरू सोझै चिनियाँ राष्ट्रपति सी चिनफिङतर्फ अघि बढ्छन्। हात मिलाउँछन् र घेरा लागेर उभिन्छन्।
दोभासे दौडेर आउनुअघि नै उनीहरूबीच केही कुराकानी हुन्छ। पुटिन मज्जाले मुस्कुराउँछन्, मोदी खुलेर हाँस्छन्। एउटा विन्दुमा पुगेपछि मोदीले पुटिन र सी दुवैको हात समात्छन्।
यी तीन जना पश्चिमसँग बेमेल भएका विश्वका सबैभन्दा शक्तिशाली तीन मुलुकका नेता हुन्। त्यसैले सोमबार पूर्वी चीनमा आयोजित सांघाई कोअपरेशन फोरममा देखिएको उनीहरूको यो ‘ब्रोमान्स’ पश्चिमतिरै लक्षित थियो।
नभन्दै यो दृश्यको ज्यादा चर्चा पश्चिममै भइरहेको छ।
उनीहरूबीचको यो एकताको दृश्यले अनेकौँ सन्देश दिएको विश्लेषकहरूको भनाइ छ। अमेरिका नेतृत्वको विश्व व्यवस्थालाई चुनौती दिँदै आएका सी र पुटिनले वैकल्पिक विश्व व्यवस्थाको नेताको रूपमा आफूलाई उभ्याएका छन्।
मोदीले दिन चाहेको सन्देश हो– यदि अमेरिकाले पेल्न खोजिरहन्छ भने भारतसँग अरु मित्रहरू पनि छन्। सीमा विवाद भए पनि चीनसँग मिलेर भारतले काम गर्न सक्छ।
‘यो सम्मेलनको एक महत्त्वपूर्ण हिस्सा देखावट हो,’ तक्षशिला इन्स्टिच्युटका मनोज केवलरमानी भन्छन्।
सीले उद्घाटन भाषणमा प्रस्टै शब्दमा अमेरिकातिर निसाना लगाए। उनले संगठनका सदस्यहरूलाई ‘शीतयुद्धकालीन मनस्थिति, गुटबन्दी र पेलाइ’का विरुद्ध उभिन आह्वान गरे।
उनको भनाइमा विश्व व्यवस्था बदल्ने चीनको चाहना स्पष्ट झल्किन्थ्यो र त्यसको नेतृत्व गर्न आफू तयार भएको सन्देश सीले दिएका छन्।
पुटिनले ट्रम्पसँगको अलस्का समिटको उल्लेख गरे र त्यसबारे सीलाई आफूले ब्रिफिङ गरेको सुनाए। यसले रुसको कूटनीतिक हिसाबकिताबमा चीनको केन्द्रीय भूमिका रहेको संकेत गर्दछ।
मोदीले पनि बहुपक्षीयता र सहभागितामूलक विश्व व्यवस्थाको वकालत गरे।
सी, पुटिन र मोदीबीचको यो सम्बन्ध रुसले प्रस्ताव गर्दै आएको त्रिपक्षीय सहकार्यकै एउटा नमुना थियो।
त्यसलगत्तै मोदी र पुटिन सँगै कारमा चढेका थिए। पुटिनको लिमोजिनमा उनीहरूबीच ५० मिनेट वार्ता भएको जनाइएको छ।
‘उहाँसँगको कुराकानी सधैँ ज्ञानवर्द्धक हुन्छ,’ त्यसपछि मोदीले सामाजिक सञ्जालमा लेखेका छन्।
विगतमा जोखिम मोल्न नचाहने भारत चीन र रुसका नेताहरूसँग ज्यादा निकटता देखाउनबाट बच्ने गर्थ्यो। तर, ट्रम्पले चर्को भन्सार महसुल लगाइसकेपछि अब अमेरिका रिसाउला कि भन्ने सोच्नुनपर्ने अवस्थामा मोदी पुगेका छन्।
पुटिनसँगको भेटबारे मोदीले सामाजिक सञ्जालमै लेखेका छन्, ‘१.४ अर्ब भारतीय तपाईंलाई नयाँ दिल्लीमा स्वागत गर्न उत्सुकताका साथ प्रतीक्षारत छन्।’
सीका लागि त यो आफ्नो प्रदर्शनको पहिलो हिस्सा मात्र हो। लगत्तै दोस्रो विश्वयुद्ध अन्त्यको ८० औँ वर्षगाँठका अवसरमा उनले सैन्य परेड आयोजना गर्दैछन्। जहाँ विश्वका कयौँ नेतामाझ चीनले आफ्नो सैन्य क्षमता प्रदर्शन गर्नेछ। एजेन्सी
Shares

प्रतिक्रिया