युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले वार्ताका लागि आफ्नो देशको राजधानी मस्को आउन गरेको प्रस्ताव अस्वीकार गरेका छन्।
जेलेन्स्कीले शुक्रबार एबीसी न्युजलाई दिएको अन्तर्वार्तामा पुटिनको निमन्त्रणाअनुसार आफू मस्को जान नसक्ने बताएका हुन्।
अन्तर्वार्तामा उनले भनेका छन्, ‘उनी (पुटिन) किएभ (युक्रेनको राजधानी) आउन सक्छन्। म मस्को जान सक्दिनँ। मेरो देश हरेक दिन मिसाइल र आक्रमणको चपेटामा छ। म आतंकवादी राजधानी जान सक्दिनँ।’
रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता गराउन जोडबल लगाइरहेका छन्।
गत महिना अलास्कामा पुटिनसँग भेटवार्ता गरेपछि उनले यसको लक्ष्य जेलेन्स्कीसहितको वार्ता हो भनेका थिए।
अलास्का वार्तापछि ट्रम्पले ह्वाइट हाउसमा जेलेन्स्की र युरोपेली नेताहरूसँग पनि छलफल गरेका थिए।
यसैबीच आजै रुसले पहिलोपटक युक्रेनको मुख्य सरकारी भवनमा हमला गरेको समाचार आएको छ।
Shares

प्रतिक्रिया