अस्ट्रेलियाको एक जलवायु प्रतिवेदनले २०५० सम्ममा समुद्री सतह बढ्दै जाँदा तटीय क्षेत्रमा बस्ने लगभग १५ लाख मानिस जोखिममा पर्ने बताएको छ।
अस्ट्रेलियाको पहिलो राष्ट्रिय जलवायु जोखिम मूल्यांकनले बाढी, चक्रवात, गर्मीको लहर, खडेरी र डढेलोजस्ता जलवायुसँग सम्बन्धित प्रकोप बढ्ने र आगामी वर्षमा अझ गम्भीर हुने भविष्यवाणी गरेको छ।
जलवायु परिवर्तन मन्त्री क्रिस बोवेनले भने, ‘अस्ट्रेलियालीहरू पहिले नै जलवायु परिवर्तनको असरको सामना गरिरहेका छन्, तर के स्पष्ट छ भने हामी अहिले जति धेरै गर्मीलाई रोक्न सक्छौँ, भावी पुस्ता त्यति नै धेरै विपत्तिबाट बच्न सक्षम हुनेछन्।’
प्रतिवेदनले विश्वव्यापी तापक्रम वृद्धिको सन्दर्भमा अस्ट्रेलिया पहिले नै १.५ डिग्रीभन्दा माथि पुगेको बताएको छ। यदि तापक्रम ३ डिग्रीले बढ्यो भने सिड्नीमा गर्मीको लहरबाट हुने मृत्यु ४०० प्रतिशतले बढ्न सक्छ र मेलबर्नमा लगभग तीन गुणा बढी हुन सक्छ।
प्रतिवेदनले अस्ट्रेलियाको कुनै पनि समुदाय जलवायु परिवर्तनको जोखिमबाट अछुतो नरहने पनि उल्लेख गरेको छ। प्रतिवेदनले चेतावनी दिएको छ, ‘गर्मीको लहरले मृत्यु बढाउनेछ, बाढी र आगलागीले पानीको गुणस्तर बिगार्नेछ र सम्पत्तिको मूल्य घट्न सक्छ।’
Shares

प्रतिक्रिया