ad ad

ग्लोबल


कोरोनाबाट बेलायतमा ३३ नेपालीको मृत्यु, २३ जना पूर्व गोरखा सैनिक

कोरोनाबाट बेलायतमा ३३ नेपालीको मृत्यु, २३ जना पूर्व गोरखा सैनिक

प्रजय शुक्ल
बैशाख १३, २०७७ शनिबार १४:२७,

नेपालमा कोरोना संक्रमितहरू उपचारपछि धमाधम घर फर्किरहेको बेला बेलायतमा भने ३३ जना नेपालीको मृत्यु भइसकेको लन्डनस्थित नेपाली दूतावासले पुष्टि गरेको छ।

दूतावास र गोरखा वेलफेयर ट्रष्टले राखेका अलगअलग अभिलेखअनुसार हालसम्म ३३ नेपालीको निधन भएको नयाँ तथ्य सार्वजनिक भएको हो। विदेशमा कोरोनाबाट नेपालीको मृत्यु भएको यो नै सबैभन्दा धेरै संख्या हो।

लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता शरदराज आरणले बेलायतमा आज शनिबारसम्म ३३ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको बताए।

‘हामीकहाँ आएको रेकर्डअनुसार कोरोनाबाट बेलायतमा अहिलेसम्म ३३ जना नेपालीको मृत्यु भइसकेको छ, दिनहुँ नेपालीको मृत्युको खबरले हामी सबैलाई दुखी बनाएको छ’, उनले नेपालखबरसँग भने, ‘सबै मृतकका परिवारप्रति दूतावासको तर्फबाट संवेदना प्रकट गर्दछौं।’

उनले नेपाली समुदायलाई घरमै सुरक्षित भएर बस्न फेरि आग्रह गरेका छन्।

कोरोनाबाट मृत्यु भएका नेपालीमध्ये गोरखा भूतपूर्व सैनिकहरुको संख्या बढी रहेको छ। दूतावासका अनुसार ३३ जनामध्ये २३ जना गोरखा भूतपूर्व सैनिकहरु छन्। त्यस्तै मृत्यु भएकामध्ये ३१ जना पुरुष र २ जना महिला छन्।

कोरोनाबाट मृत्यु हुनेमा नेपालीमा सबैभन्दा बढी उमेर ९५ वर्ष र कम उमेर ३२ वर्ष रहेको छ।

बेलायतको नेपाली समुदायमा कोरोना संक्रमण व्यापक भएको पाइएको छ। लकडाउन र सञ्चार सम्पर्कको सिमितताले गर्दा त्यसबारे धेरै जानकारी पाउन नै मुस्किल छ। 

london

मृतकको संख्या २० हजार नाघ्यो
शनिबारसम्म बेलायतमा कोरोनाबाट बीस हजार ३१९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ४८ हजार ३७७ पुगेको छ। पछिल्लो २४ घण्टामा ८१३ जनाको मृत्यु भएको छ।

यति हुँदा पनि बेलायत सरकारले अन्तर्राष्ट्रिय उडान जारी राखेको छ। अमेरिकाको न्युयोर्क तथा अन्य शहर र यूरोपका देशहरूबाट अहिले पनि दैनिक करिब १५ हजार मानिस लन्डन आइरहेका छन्, जसको खास स्वास्थ्य जाँच विमानस्थलमा गरिँदैन।

सरकारले मृतकको संख्या बीस हजार भन्दा कममा सिमित गर्न सके कोरोनाविरुद्धको अभियानमा सरकार सफल भएको मानिने दाबी गरिरहेका बेला आज त्यो संख्या नाघेको हो। विश्लेषकहरूले बेलायत इटलीको बाटोमा रहेको अर्थात महामारीबाट अति प्रभावित हुने देश बन्दै गरेको जनाएका छन्।

(शनिबार नै थप २ जना नेपालीको मृत्यु भएको पुष्टि भएपछि यो परिमार्जन गरिएको छ–सम्पादक)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .