गत सोमबार (नोभेम्बर १०) भारतको राजधानी दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेसनको गेट नम्बर १ नजिकै भएको विस्फोटको नयाँ सीसीटीभी फुटेज सार्वजनिक भएको छ।
विस्फोटले जमिनबाट ४० फिटमुनिसम्म हल्लाएको सीसीटीभी फुटेज प्राप्त भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
उनीहरूका अनुसार भिडिओमा विस्फोटका क्रममा मेट्रो स्टेसनबाट ४० फिटमुनि रहेका पसलमा अचानक भूकम्पजस्तै झट्का महसुस भएको थियो। एक्कासि जमिन हल्लिएपछि त्यहाँ उपस्थित व्यवसायी र ग्राहकहरू डराएका थिए।
यो भिडिओ मेट्रो स्टेसनमा जडान गरिएको सीसीटीभी क्यामेराबाट लिइएको हो।
भिडिओ:
गत सोमबार साँझ करिब ७ बजे दिल्लीको लालकिल्ला नजिकै कार बम विस्फोट गराउँदा १३ जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए।
विस्फोटका सीसीटीभी फुटेज सार्वजनिक गर्दै प्रहरीले त्यस कारमा डा. उमर रहेको र उनैले विस्फोट गराएको दाबी गरेको छ। उनी पनि विस्फोटमा मरिसकेका छन्।
उक्त घटना अनुसन्धानका क्रममा प्रहरीले अहिलेसम्म ८ जनालाई हिरासतमा लिएको छ।
यसैबीच जम्मु-कश्मीर प्रहरीले दिल्ली विस्फोटका मुख्य अभियुक्त ठानिएका डा. उमर नबीको घर बिहीबार राति विस्फोटबाटै ध्वस्त पारिदिएको छ।
Shares

प्रतिक्रिया